Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने सरकारको निर्णय

 सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ ।

अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

राजमार्गहरुमा अलपत्र यात्रुहरुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने पनि निर्णय भएको छ ।

राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।

ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।

साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ ।

बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

बैठकले विपतको मसयमा सबै दल, तीनै तहको सरकार र निजी क्षेत्रको समन्वयात्मक एवं एकीकृत प्रयासमा उद्धार,राहत र पुनर्स्थापना गर्नुपर्नेमा जोड दिएको छ । साथै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने निर्णय पनि सर्बदलीय बैठकले गरेको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्