सहकारी ठगी प्रकरण: दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीलाई काठमाडौं ल्याइयो
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली लाई काठमाडौं ल्याईएको छ ।
सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट शुक्रबारपक्राउ परेका थिए । उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।
उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए ।
उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी पक्राउ परेका हुन् ।
उनले आफूसँग भएको सम्पत्ति बेचविखन गरेर ऋण तिर्न सक्ने बताएका छन् । उनले आफूसँग ४४ ठाउँमा घरजग्गा रहेको विवरण सार्वजनिक गरेका थिए ।
उनले केही महिनाअघि सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमतीको नाममा भएको सम्पत्ति बेचेर सबै बचतकर्ताको ऋण तिर्ने बताएका थिए । सहकारी ठगी मुद्दामा मिलापत्र गर्न सकिने ढोका खुलेसँग उनी पक्राउ परेका हुन् । सबै ऋण तिरेर मिलापत्र गरेमा उनको मेयर पद पनि यथावत नै रहन्छ ।