Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण ललितपुरमा १७ जनाको मृत्यु, सडक र सञ्चार सम्पर्कविच्छेद

१३ असोज, काठमाडौं । शुक्रबारदेखिको बाढी र पहिरोले ललितपुर जिल्लाको दक्षिणी क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको छ । कम्तीमा १७ जनाको मृत्यु भएको छ, भने १० जना हराइरहेका छन् ।

अधिकांश क्षेत्रमा बिजुली र टेलिफोन सम्पर्क अवरुद्ध छ, टेलिफोन सम्पर्क नहुँदा क्षतिको जानकारी पनि आउन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् ।

बाढी र पहिरोले दक्षिण ललितपुरका सबैजसो सडक अवरुद्ध भएको छ । चापागाउँभन्दा माथिल्लो क्षेत्रमा गएको पहिरोले लेले बजारसँगको सम्पर्क विच्छेद भएको छ ।

पहिरोले ठाउँठाउँमा बिजुलीको पोल ढलेकाले सबैजसो ठाउँमा विजुली आपूर्ति हुन नसकेको छैन । बिजुली नहुँदा टेलिफोन टावरहरु सञ्चालन भएका छैनन् र फोन सम्पर्कविच्छेद भएको छ ।

महांकाल गाउँपालिकाका प्रवक्ता जोनीकुमार न्यासुरका अनुसार महांकालमा मात्रै ११ जनाको मृत्यु भएको बताए ।

चापागाउँ नजिकै पहिरो गएकाले महांकाल गाउँपालिकाको केन्द्र गोटिखेल जाने बाटो अवरुद्ध छ । त्यो सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ । गोटिखेल बजारमा रहेको एक निजी विद्यालय र प्रहरी चौकीमा पहिरोले क्षति पुर्‍याएको छ । प्रहरीको गाडी नै बाढीले बगाएको उनले बताए ।

‘केही घाइतेहरुको उद्दारका लागि हेलिकप्टर लिएर जाने कुरा भएको छ’ प्रवक्ता न्यासुरले भने, ‘प्रहरीको सेट र वाकीटकी समेत नचल्दा त्यता के कस्तो छ, केही थाह हुन सकेको छैन ।’

गोदावरी नगरपालिकाको केही क्षेत्र काठमाडौं उपत्यकामा र केही क्षेत्र ग्रामीण क्षेत्रमा पर्छ । ग्रामीण क्षेत्रमा पर्ने देवीचौर, लेले र टीकाभैरवमा गरी ४ जनाको मृत्यु भएको मेयर गजेन्द्र महर्जनले बताए ।

चापागाउँसँग जोडिएको देवीचौरमा पहिरोले घाइते भएकाहरुको उद्दार हुन नसक्दा हेलिकप्टर पठाउने प्रयास भइरहेको उनले बताए ।

दक्षिण ललितपुरको मुख्य नाका मानिने टीकाभैरव पुग्ने सडक अबरुद्ध छ । सडक मर्मत गर्न अझै २र३ दिन लाग्ने उनले बताए । चापागाउँ वरपरका पहाडी गाउँहरुमा जाने सडक पनि भत्किएको छ । सञ्चार सम्पर्क पनि विच्छेद छ ।

कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरेका अनुसार, दल्चोकीमा पहिरो खस्दा एकै घरमाा दुई जनाको मृत्यु भएको छ । दल्चोकीकै तल्लो भागमा पर्ने ठोस्ने खोलामा आएको बाढी र लेदोले ५० घरगोठमा क्षति पुगेको जानकारी आएको उनले बताए ।

उनका अनुसार, त्यहाँ किसानका चौपायाहरु पनि बगेका छन् । विपद व्यवस्थापन समितिको बैठकका लागि हिँडेरै जिल्ला प्रशासन कार्यालयमा आएका उनले फर्किन पनि सहज नभएको बताउँछन् ।

दक्षिण ललितपुरकै बाग्मती गाउँपालिकाको घुसेल गाउँमा एक जना शिक्षक पहिरोमा बेपत्ता भएका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।

भट्टेडाँडा हुँदै हेटौडा जोड्ने कान्ति राजपथको दर्जनौ ठाउँमा पहिरो गएको छ । कान्ति राजपथकै माल्टा–ठिंगन खण्डमा बाग्मतीमाथि बनेको पक्की पुल बाढीले बगाएको छ ।

फास्टट्रयाक बनाउने क्रममा बगेको माटो सहित बाग्मती नदीमा आएको बाढीले पक्की पुल भत्काएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष लोप्चनले बताए । उनका अनुसार, त्यो भन्दा तल आश्राङ, गिम्दी र प्यूटार गाउँबाट मकवानपुर जोड्ने बाग्मती नदीका चारवटा झोलुंगे पुल बगेका छन् ।

ती गाउँ सबैतिरबाट सम्पर्कविच्छेद अवस्थामा पुगेका छन् । ८र१० वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण आए पनि फोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण संकलन हुन सकेको छैन । बाग्मती गाउँपालिकाकै इकुडोलमा अर्को झोलुंगे पुल पनि बगेको छ ।

बाग्मती गाउँपालिका–५ गिम्दीका वडाध्यक्ष होमप्रसाद बजगाईंले बाग्मती किनारका फाँट बाढीले डुबाएको बताए । भित्र्याउने बेलामा बाढी पस्दा धानखेती सखाप भएको छ । गम्दीमा बाग्मती किनारभन्दा निकै माथि रहेका घर र सामुदायिक भवनमा पनि बाढीले क्षति पुर्‍याएको छ ।

बाग्मती गाउँपालिकाको धेरै क्षेत्रमा बिजुली र सञ्चार सम्पर्क विच्छेद भएको छ । ठाउँठाउँमा बिजुलीका पोलहरु ढलेका छन् ।

ललितपुरको दुई तिहाई भूभाग भौगोलिक रुपमा काठमाडौं उपत्यकाबाहिर पर्छ । कच्ची सडकले जोडिएका गाउँहरुमा रहेक वर्षायाममा पहिरो जाने गर्थ्यो । यसपटकको भारी वर्षाले भने ठूलो क्षति पुर्‍याएको हो ।

यसअघि १३ असोज, २०३८ मा आएको भीषण पहिरोले दक्षिण ललितपुरमा बाढी पहिरोले ठूलो क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्