Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडितलाई काठमाडौंमा निःशुल्क खाना र अस्थायी बास

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढी पीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था गरेका हुन् ।

१० नम्बर वडाले शनिबार बिहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । यस्तै बेलुका ५ सयका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन्, ‘अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौं ।’

बागमती नदीले वडा नम्बर १० का शंखमुल, बुद्धनगर, दोभान लगायत क्षेत्रमा बढी प्रभाव पारेको छ ।

बागमती र विष्णुमती दोभान रहेको वडा नम्बर १२ र १४ पनि महानगरका प्रभावित वडा हुन् । वडा नम्बर १४ बल्खु क्षेत्रका अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुसी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ ।

१४ नम्बर वडाले शनिबार बाढी प्रभावित १ सय २५ लाई कम्बल वितरण गरेको थियो । यस्तै ४ सयलाई दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरेको थियो । वडाले विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ ।

यस्तै वडा नम्बर ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङलाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ ।

वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कुलमा खानपानको व्यवस्था गरिएको छ ।

काठमाडौं महानगरपालिकाले बाढीजन्य विपद् परे सहयोगका लागि हटलाइन नम्बरहरू १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्