Logo
१३ आश्विन २०८१, आईतबार
(September 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमतीमा बाढी पहिरोका कारण ४९ जनाको मृत्यु

हेटौँडा । बाढी पहिरो र डुबानमा परेका बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर ४९ को मृत्यु हुँदा ४० जना घाइते भएका छन् भने ३५ जना हराइरहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्यांकअनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर धादिङ र काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । बाढी पहिरोमा परेर धादिङमा १६ र काभ्रेमा १२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । त्यस्तै बाढी पहिरोका कारण मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १÷१ जनाको मृत्यु भएको छ । रसुवामा मानवीय क्षति भएको छैन ।

बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा १६ जना घाइते हुँदा ६ जनाको अवस्था अज्ञात रहेको छ भने दोलखामा १ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन् । काभ्रेमा घाइतेको सङ्ख्या १५ रहेको छ भने २३ जना बेपत्ता, नुवाकोटमा १ जना घाइते, धादिङमा घाइते ४ र २ जना बेपत्ता, मकवानपुरमा ३ जना घाइते भएका छन् ।

बाढी पहिरोको जोखिममा रहेका प्रदेशका ३२ घरका २४१ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ । प्रहरीका अनुसार चितवनमा ३ घरका १००, रसुवाका ४ घरका १९ जना, सिन्धुपाल्चोकका ६ घरका ३० जना, दोलखामा एक घरका ७, रामेछापमा ३ घरका १० जना र सिन्धुलीमा १५ घरका ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोका कारण मकवानपुरमा ३६ घर पूर्ण रुपमा क्षति भएका छन् भने चितवनमा २, नुवाकोटमा ४, रसुवामा ५, काभ्रेमा २३, सिन्धुपाल्चोकमा ५, दोलखामा २, रामेछापमा २०, सिन्धुलीमा एक गरी ९८ घर पूर्ण रूपमा क्षति भएको छ । नुवाकोटमा एक र सिन्धुलीमा २ घरमा बाढी पहिरोले आंशिक क्षति पुगेको छ ।

बाढीका कारण मकवानपुरमा एक पुल बगाएको छ भने सिन्धुपाल्चोकमा २ वटा सडक पुल, रामेछापमा ३ वटा सडक तथा पुल बगाएको छ भने मकवानपुरमा ५, धादिङमा ४, नुवाकोटमा १०, सिन्धुपाल्चोकमा ५ गरी २४ पशुचौपायाको मृत्यु भएको छ ।

४ हजार ११९ प्रहरी परिचालन

प्रदेशमा बाढी पहिरो तथा डुबानमा घटना नियन्त्रण तथा उद्धार कार्यमा ४ हजार ११९ प्रहरी परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरो तथा डुवानका घटनामा खोजी उद्धार तथा सुरक्षाका लागि मकवानपुरमा ५६९, चितवनमा ७५९ जना, धादिङमा ४०४ जना प्रहरी परिचालन गरिएको छ ।

त्यस्तै नुवाकोटमा ३५९, रसुवामा २०१, काभ्रेमा ५०४, सिन्धुपाल्चोकमा ३८५, दोलखामा २७१, रामेछापमा २८६, सिन्धुलीमा ३८१ प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: Sep 29, 2024

प्रतिक्रिया दिनुहोस्