अखिल क्रान्तिकारीको महाधिवेशन : दोस्रो दिनको कार्यसूचीमा प्रवेश गरेन
११ असोज, काठमाडौं। अखिल क्रान्तिकारीको २३औं महाधिवेशनको दोस्रो दिनका लागि तोकिएको कार्यसूचीमा कार्यान्वयन हुन सकेको छैन ।
आजका लागि विधानमा छलफल गर्ने कार्यसूची तय गरिएको थियो । ‘आजका लागि तोकिएको कुनै पनि कार्यसूचीमा प्रवेश गर्न आज सकेको छैन,’ उपाध्यक्ष क्षितिज सापकोटाले अनलाइनखबरसँग भने ।
आजको कार्यसूचीमा विहान ८ बजे कार्यालयको बैठक, ९ बजेका लागि कार्यालयले सम्पादन गरेको विधानलाई हलमा पेश गर्ने कार्यसूची थियो । विवादित भएका ठाउँका प्रतिनिधि टुंगो लगाउने कार्यसूची बनाइएको थियो । ‘आज कुनै पनि कार्यसूचीमा कार्यान्वयन हुन सकेन । यसले बन्दसत्रको तालिकालाई प्रभावित बनाएको छ,’ सापकोटाले भने ।
भावी नेतृत्वका लागि पार्टी नेतृत्वले आन्तरिक छलफल गर्ने चाहना, वर्षा लगायतका कारणले कार्यतालिका प्रभावित भएको महाधिवेशनका प्रतिनिधिले जानकारी गराएका छन् । वर्षाका कारण कतिपय प्रतिनिधि हलमा नआएको र आएकाहरु नाचगानमा लागेको सापकोटाले जानकारी गराए । दुई हजार २२३ जना महाधिवशेनमा प्रतिनिधि छन् ।
भावी नेतृत्वका आकांक्षीहरु बन्दसत्रमा ध्यान नदिएर मत माग्न लागि सकेकाले निर्धारित कार्यतालिका अनुसार काम नभएको सहभागीले बताए । अखिल (क्रान्तिकारी)को अध्यक्षका लागि १८ जनाले दाबी गरेका छन् ।