Logo
११ आश्विन २०८१, शुक्रबार
(September 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काम गर्न नसक्ने कर्मचारीले कुर्सी छाडे हुन्छ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्। पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे। कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताए।

उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताए। उनले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए। मन्त्री पाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे।

उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए। मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानुन बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए।

उनले भने, ‘हामी जोजो जुन जुन ठाउँमा छौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिनँ भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन। कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनुपर्छ।

मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानुन बनाउन लाग्नुपर्ने बताए। निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रुपमा सकारात्मक रहेको उल्लेख गरे।

प्रकाशित मिति: Sep 27, 2024

प्रतिक्रिया दिनुहोस्