Logo
११ आश्विन २०८१, शुक्रबार
(September 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशीको चलखेल बढ्यो‚ देश जोगाउन सक्ने माओवादीले हो : प्रचण्ड

 नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढेको बताएका छन्।

बिहीवार काठमाडौँमा आयोजित अखिल(क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले देशमा विदेशी शक्तिकेन्द्रहरूको चलखेल बढ्दै गएको बताएका हुन्।

उनले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भूराजनीतिको केन्द्र बन्ने अवस्था रहेको बताए। उनले नेपालको राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेप बढ्दै गएको पनि बताए।

प्रतिक्रियावादी शक्तिहरू लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अघि बढिरहेका उनको भनाइ छ। उनले राष्ट्रिय स्वाधीनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यी शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

उनले भ्रष्टाचारविरुद्ध महाभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताए। उनले आन्दोलनको बलमा केही महिनाभित्रै परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गरे।

प्रचण्डले भने‚ ‘नेपाल अहिले चलिराखेको भूराजनीतिको इपिसेन्टर हुने हो कि, त्यसको केन्द्रबिन्दु हुने हो कि ? विशाल भारत र चीनको बीचमा हुनुको नाताले र चीनसँगको प्रतिस्पर्धामा पश्चिमा राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धाले र दुनियाँभरी चलेका राजनीतिक घटनाक्रमका कारणले स्थिति सामान्य छैन।

नेपालको राष्ट्रिय स्वाधीनतामाथि दबाब र हस्तक्षेपहरू बढ्दै गएका छन्। विदेशी शक्तिकेन्द्रहरुको पनि चलखेल बढ्दैछ। यस्तो परिस्थितिमा हाम्रो राष्ट्रिय स्वाधीनतामाथि गम्भीर चुनौती खडा भएको छ। यो परिस्थितिमा देशको रक्षा गर्न सक्ने, विदेशी चलखेलविरुद्ध राष्ट्रिय शक्ति निर्माण गर्न सक्ने भनेको वामपन्थी शक्तिले नै हो। माओवादी केन्द्रले नै हो।’

प्रचण्डले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नयाँ खबर सुन्न पाइने बताए। उनले सके सहमतिमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरूलाई आग्रह गरे।

प्रकाशित मिति: Sep 27, 2024

प्रतिक्रिया दिनुहोस्