Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्गको नाम ‘प्रचण्ड मार्ग’ राख्नुपर्ने प्रस्तावमा रविन्द्रलाई प्रचण्डको जवाफः ‘तपाईँले राजनीति गर्नुभएको हो’

काठमाडौं, ७ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरबार मार्गको नाम प्रचण्ड मार्ग राख्नुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राजनीति गरेको टिप्पणी गरेका छन् । गत संविधान दिवसको अवसरमा राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रले दरबार मार्गको नाम कांग्रेस–एमालेले प्रचण्ड मार्ग राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

संविधान निगरानी समूह र आईएसएसआरको संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयनः अपेक्षा र बास्तविकता’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले प्रचण्डलाई महत्व दिएर भन्दा पनि राजनीति गर्न उक्त अभिव्यक्ति दिएको उनले बताएका हुन् ।

‘दरबार मार्गको नाम प्रचण्ड मार्ग राखे हुन्छ कांग्रेस–एमालेले भनेर पनि भन्नुभयो । यो कांग्रेस–एमाले र प्रचण्डको बीचमा लडाईँ पार्न खोजेको हो कि ? मलाई त्यतिबेला त्यो महशुस भयो ।’ उनले भने, ‘उहाँले आफ्नो विचार त प्रष्ट राखिनै सक्नुभएको छ । त्यो विचार राख्ने मित्रले प्रचण्डलाई अलि बढी महत्व दिउँ भनेर त पक्कै पनि गर्नुभएको होईन । उहाँले राजनीति गर्नुभएको हो ।’

प्रचण्डले वर्तमान संविधानले सबै अभिव्यक्तिलाई व्यक्त गर्ने अधिकार दिएको बताए । वर्तमान संविधान प्रचण्डको संविधान नभएर नेपाली जनताको संविधान रहेको पनि उनले प्रष्ट पारे । संविधान निर्माणका क्रममा अरु नेताहरुको जस्तै आफ्नो पनि भूमिका रहेको कुरा सत्य भएपनि यसलाई प्रचण्डको संविधानको संज्ञा दिन नहुने उनले बताए ।

नेपालको राजनीतिक बृत्तमा संविधान, त्यसको संशोधन, परिमार्जन, परिवर्तनजस्ता विषयहरु अहिले एजेण्डाको रुपमा छलफल भइरहेको पनि उनले बताए । प्रचण्डले अहिले संविधान संशोधनको विषयलाई लिएर विभिन्न खालका कन्फ्यूजन बढेको पनि बताए ।

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्