Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभा महिला भलिबल च्याम्पियन पुलिस टोलीलाई गरियो भव्य स्वागत

काभा महिला भलिबल क्लब च्याम्पियनशिपको विजेता नेपाल पुलिस क्लबको सोमवार भव्य स्वागत गरिएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लबका खेलाडीको भव्य स्वागत गरिएको हो।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, संघका अन्य पदाधिकारी, विभिन्न खेलका खेलाडी र नेपाल प्रहरीका उच्च पदस्थ अधिकृतलगायतले विजेता टोलीलाई स्वागत गरेका थिए। टोलीलाई बाजागाजासहित विमानस्थलबाट महाराजगञ्जस्थित प्रहरी तालिम केन्द्र लगिएको थियो। त्यहाँ सञ्चारकर्मी प्रवेशमा भने रोक लगाइएको थियो।

पुलिस क्लबले फाइनलमा उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो। पुलिस अपराजित रहँदै उपाधि उचाल्न सफल भयो।

माल्दिभ्समा शनिवार सम्पन्न च्याम्पियनशिपमा पुलिस क्लबसहित उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र ताजकिस्तानका गरी ६ क्लबले प्रतिष्पर्धा गरेका थिए।

लिग चरणामा नेपाल पुलिसले हुमोसँगै श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० ले हराएको थियो।

नेपाल पुलिसले माल्दिभ्सका टोली वाम्को क्लबलाई ३–२ र माल्दिभ्स पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो।

पुलिसले आठौँ एनभिए महिला भलिबल लिग च्याम्पियनको हैसियतमा काभा महिला क्लब च्याम्पियनशिपमा खेलेको हो।

यो च्याम्पियनशिपमा सहभागी हुन पुलिसले एपिएफ क्लबकी स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्नाका साथै न्यु डायमण्ड स्पोर्टस क्लबकी मिडल ब्लकर सुमित्रा रेग्मीलाई अनुबन्धित गरेको थियो।

 

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्