Logo
७ आश्विन २०८१, सोमबार
(September 23, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन

लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।

रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेका छन् ।

रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने बताए ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो । समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । उनलाई काठमाडौंमा पक्राउ गरेर आइतबार बेलुकी कास्की पुर्‍याइएको थियो । जोशीलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् । १० दिने भ्रमणका लागि शनिबार चीन पुगेका रास्वपा सभापति डा. स्वर्णिम वाग्लेसहितका नेताहरु पनि आकस्मिक रुपमा स्वदेश फर्किन थालेका छन् ।

आइतबार राति रास्वपाले आफ्ना समर्थकहरुलाई पार्टी कार्यालय बनस्थलीमा भेला हुन आह्वान गरेको थियो । सो भेलालाई सम्बोधन गर्दै लामिछानेले आफूले नबिराएकाले नडराउने बताएका थिए ।

 

प्रकाशित मिति: Sep 23, 2024

प्रतिक्रिया दिनुहोस्