Logo
३ आश्विन २०८१, बिहीबार
(September 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबारमार्गकाे कन्सर्टमा ४ हजार ५ सय सुरक्षाकर्मी परिचालन

काठमाडौँ । संविधान दिवसको अवसरमा काठमाडौँको दरबारमार्गमा बिहीबार साँझ कन्सर्टको आयोजना गरिएको छ । नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले ‘समन्वय’ र ‘सहजीकरण’ गरेको छ ।

बिहीबार दिउँसो ४ बजेबाट सुरु हुने कन्सर्टमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली साँझ ६ बजेर ३० मिनेटमा दरबारमार्गमा पुग्नेछन् ।

कन्सर्टको सुरक्षामा नेपाल प्रहरीका २५ सय र सशस्त्रका २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ । कन्सर्टको सुरक्षा कमान्ड काठमाडौँका एसएसपी वसन्त रजौरेले गर्ने भएका छन् । कन्सर्ट स्थलमा एसपी नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले  बताए ।

‘कन्सर्ट स्थलमा विरोध गर्न सक्ने समूहबारे प्रहरीले सूचना सङ्कलन गरिरहेको छ । सूचना सङ्कलनमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । कन्सर्टमा आउने हरेक मान्छेलाई सुरक्षा दिनेगरी ब्यवस्थापन मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । ‘कसैले कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे नियन्त्रणमा लिएर कारबाही गर्छौँ ।’

सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी सुरक्षाकर्मीलाई कन्सर्टस्थलमा परिचालन गरिने सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले  बताए । न्यौपानेका अनुसार पशुपतिनाथ बाहिनीका बाहिनी पति डीआईजी किशोर प्रधानले सुरक्षा कमान्ड गर्नेछन् ।

‘नेशनल डे कन्सर्ट’ नाम दिइएको सो कन्सर्ट दरबारमार्गको मुख्य सडकमा आयोजना गर्नेगरी मञ्च बनाइएको छ । कन्सर्ट सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण सरकारले गरेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले बताए । सहसचिव तिवारीले भने, ‘आवश्यक सबै सुरक्षा व्यवस्था मिलाएका छौँ ।’

बालेन समर्थक ‘चुनौती’

असोज १ मा वसन्तपुरमा आयोजित इन्द्रजात्रामा १४ जना युवायुवती ‘बालेन सिटी’ लेखिएको टिसर्टमा देखिए । जात्रा आयोजक र उनीहरूको बिचमा ‘विवाद’ भएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर छाड्यो । इन्द्रजात्रामा प्रधानमन्त्री केपी ओली सहभागी थिए र काठमाडौँका मेयर बालेन्द्र शाह ‘बालेन’ थिएनन् ।

प्रधानमन्त्री र बालेनका बिचमा सामाजिक सञ्जालमा ‘घोचपेच’ चलिरहेको छ । नदी किनारमा थप २० मिटरको मापदण्ड लागू गर्ने लगायतका विषयमा उनीहरू फरक ‘किनारा’ मा छन् । एक जना उच्च सुरक्षा अधिकृतका अनुसार बालेन समूहले कन्सर्टमा ओलिबिरुद्ध नारबाजी गर्न सक्ने आकलन छ । बालेन समर्थक बाहेक अन्य संविधान विरोधी समूहले पनि कन्सर्टस्थलमा नाराबाजी र हुलदङ्गा गर्न सक्ने सुरक्षा निकायको आकलन छ ।

सम्भावित सुरक्षा चुनौतीबारे पूर्णरुपमा सुरक्षा तयारी गरिएको काठमाडौँका एसएसपी रजौरेले बताए । उनले भने– ‘सुरक्षा व्यवस्था चुस्त राख्न सबै कुराको तयारी हामीले गरेका छौँ ।’ सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले कन्सर्टस्थलमा ‘हुनसक्ने चुनौती आकलन’ गरिएको बताए । उनले भने, ‘चुनौती आकलन गरेर त्यसैअनुसार सुरक्षा व्यवस्थापन गरिएको छ ।’

प्रकाशित मिति: Sep 19, 2024

प्रतिक्रिया दिनुहोस्