Logo
२७ पुस २०८१, शनिबार
(September 17, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजेन्द्र महतोद्वारा पार्टी घोषणा

काठमाडौँ। राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् ।  पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ ।

लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

प्रेस विज्ञप्ति

आदरणीय सञ्चारकर्मी मित्रहरु,
विषय : पार्टी घोषणा गरिएको बारे ।
राष्ट्रिय मुक्ति क्रन्ति २०८० फाल्गुन १४ गते देखि एउटा अभियानको रुपमा सञ्चालन भइरहेको र विगत ६ महिना देखि   राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली इतिहासमा पहिलो पटक एकल राष्ट्रिय राज्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने लक्ष्य औपचारिक रुपमा नै प्राप्तिको लागि अग्रसर रहेको छ । स्वदेशवाद, बहुलराष्ट्रवाद, सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्त मार्फत नेपाललाई बहुलराष्ट्रिय राज्यको रुपमा रुपान्तरणको निमित्त राष्ट्रिय मुक्ति क्रान्तिले अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोहको तयारी अर्थात अभियान—संघर्ष—विद्रोहको त्रियाङगी कार्यदिशाले नेपाली जीवन जगतको मुख्य तीन सामाजिक—साँस्कृतिक, राजनीतिक र आर्थिक पक्षहरुमा अन्तर्निहित ज्ञान, समाज व्यवस्था र अर्थतन्त्रको पुनर्मूल्याङकन, पुनर्संरचाना र पुनस्थापना गर्दै मुलुकलाई छद्मभेषी आधुनिकीकरण मार्फत विस्तार गरिएको विध्वंसकारी पश्चिमीकरण र औपनीवेशिकताको शक्ति संरचना ध्वसं गर्दै राज्यको नयाँ स्वादेशीकरण मार्फत वास्तविक “राज्य एकीकरण” सम्पन्न गराउँदै शान्ति र समृद्धिको यात्राको नेतृत्व गर्ने लक्ष्यका साथ कार्य गर्दै आइरहेको छ । यस क्रममा दुई चरणको प्रचारात्मक कार्यक्रम मार्फत वृहत सम्वादात्मक कार्यक्रमदेखि सडक संघर्ष सम्मको कार्यक्रम सम्पन्न गरेको छ । प्रचारात्मक कार्यक्रम गर्ने क्रममा पूर्वी नेपालको पाँचथर(फेदेम) देखि बाग्लुङको बुर्तिबाङ हुँदै दाङको घोराहीसम्म तथा मेचीदेखि महाकालीसम्म जाँर्दै गर्दा आम जनतामा मुलुकमा हाल विद्यमान निराशै निराशाको विचमा स्वदेशवादी विचारधाराले एउटा आशा र भरोसा पैदा गरेको देखियो । मुलुकमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भईरहेको कारणले नेपाल सबै नेपालीको बन्न सकेन ।
त्यसैले, देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार सँस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, सम्बृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मधेशका जनता अब सँगै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्त्ति गर्नु अपरिहार्य भएको छ ।
तसर्थ, एकातर्फ आम जनताले अभियानको रुपमा संञ्चालन भइरहेको राष्ट्रिय मुक्ति क्रान्त्तिलाई अब पार्टीको रुपमा संञ्चालन गर्न व्यापक जनदवाव सृजना गरिरहेकोले र प्रचारात्मक कार्यक्रमको प्रभावले उत्सर्जित शक्ति र पूंजीलाई संस्थागत र व्यवस्थित गर्न राजनीतिक दलको आवश्यकता महसुस भएको छ भने अर्कोतर्फ हाल संचालित अभियानको चरणबाट आगामी मंसिर देखि ससक्त शान्तिपूर्ण संघर्ष र विद्रोहको चरणमा प्रवेश गर्ने कार्यदिशा रहेको र त्यस भन्दा पहिले नै राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मांग र मुद्धालाई देश, जनताको अगाडी औपचारिक रुपले अल्टिमेटम सहित सार्वजनिक गर्ने कार्यक्रम पार्टीको तर्फबाट गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै तत्काल नै अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले श्री राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ । बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रकृया पूरा गरी विधिवत रुपमा निर्वाचन आयोगमा दल दर्ता सम्वन्धि सवै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष श्री राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।
…………………….
राजेन्द्र महतो
अध्यक्ष

प्रकाशित मिति: Sep 17, 2024

प्रतिक्रिया दिनुहोस्