Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङको नाममा प्रतिष्ठान बन्छ, कसैलाई कब्जा गर्न दिइन्‍न : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने तर कसैलाई कब्जा गर्न नदिने घोषणा गरेका छन्।

बुधवार एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै उनले सो घोषणा मात्र गरेनन् एमालेले पुष्पलाल प्रतिष्ठान बनाए पनि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निजी सम्पत्ति झैँ लगेको आरोप पनि लगाए।

उहाँले पुष्पलालले पार्टी नछोडेको भन्दै नेपालले पार्टी छोडेपछि एमालेले नै पुष्पलाल प्रतिष्ठानको संरक्षणको जिम्मेवारी पाउनुपर्ने दावी पनि गरे। नेताहरुका नामका प्रतिष्ठान सक्रिय बनाउने गरी पार्टी अघि बढ्ने पनि उनले बताए।

‘नेताका नाममा प्रतिष्ठान हुने, तर त्यो प्रतिष्ठान देशका लागि नहुने। अनि कसैले त्यसलाई कब्जा गरेर बस्ने? पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपालजस्ता मान्छेहरु अध्यक्ष भए,’ उनले भने‚ ‘पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने?’

उनले त्यसमाथि अझ थपेर मदन भण्डारी स्कुलका नाममा दुरुपयोग गरेको आरोप पनि लगाए।

‘अर्को एकजनाले मदन भण्डारी अन्तरराष्ट्रिय स्कुल भनेर खोल्या छ। अनि मदन भण्डारीका विचारभन्दा फरक कुराहरु सिकाउने गरेर त्यसको दुरुपयोग गरेको छ‚’ उनले भने‚ ‘यस्ता कुरालाई समयक्रममा हामीले आन्दोलनको हितमा, जनता, देशको पक्षमा उभ्याउनुपर्छ। कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन।’

उनले सुवाषचन्द्र नेम्वाङका स्मृति ताजा राख्न र नेम्वाङका आदर्शहरुलाई पछ्याएर उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताए।

उनले प्रतिष्ठानको बारेमा सम्पूर्ण निर्णय भने शुक्रवार बस्ने पार्टीको सचिवालय बैठकले गर्ने स्पष्ट पारे। प्रतिष्ठान बनायो छोड्यो गर्ने नभइ नेताहरुका नामका प्रतिष्ठान नेताहरुको आदर्श, नेताहरुको विचार, नेताहरुले हिँडेको बाटो, नेताहरुको व्यवहार, आचरण, नेताहरुको गतिशील इच्छा, आकांक्षा र प्रवृत्तिअनुरुप चल्नुपर्ने बताए।

उनले भने, ‘सुवाषचन्द्र नेम्वाङजीको स्मृतिलाई ताजै राख्न र उहाँको सम्झनामा उहाँका आदर्शहरुलाई पछ्याएर केही कामहरु गरिरहनका लागि हामी एउटा सुवासचन्द्रजीका नाउँमा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं भन्ने घोषणा गर्न चाहन्छु।’

 

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्