Logo
४ आश्विन २०८१, शुक्रबार
(September 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको टाँडीमा भाटभटेनीको २९औँ स्टोर, पाँच सयले रोजगारी प्राप्त गर्ने

काठमाडौं, भदौ २६। भाटभटेनी सुपरमार्केट्सले चितवनको टाँडीमा २९औँ स्टोर सञ्चालनमा ल्याउने भएको छ । तीन दिनअघि पोखराको तालचोकमा २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको भाटभटेनीले चितवनमा २९औँ स्टोर सञ्चालनको तयारी गरेको हो ।

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले २९औँ स्टोर चितवनको टाँडीस्थित शान्ति चोकमा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । एक वर्षभित्रैमा उक्त स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिदै उनले टाँडीमा बेसमेन्टसहित सात तलाको भवन विस्तारपछि जनतालाई सहजता प्रदान गर्ने बताएका छन् ।

उक्ट भवनको एक तला ४६ हजार स्क्वायर फिट हुनेछ । चितवनमा नक्सा पासदेखि, कित्ताकाटलगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्ने उनले जानकारी दिए । चितवनस्थित नयाँ स्टोरमा करिब पाँच सयले रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर भने पहिल्यै सञ्चालनमा आइसकेको छ ।

यसअघि भाटभटेनीले देशका विभिन्न स्टोरमा ७ सय बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ ।

अहिले काठमाडौं उपत्यकाभित्रका स्टोरमा यसरी रोजगारी दिइए पनि अब छिट्टै काठमाडौंबाहिरका स्टोरमा पनि यस्तो रोजगारी दिने तयारी रहेको अध्यक्ष गुरुङले बताए । पढ्दै रोजगारी कार्यक्रम अन्तर्गत भाटभटेनीले विदेशमाजस्तै पार्ट टाइम कामको व्यवस्था गरिएको जनाएको छ । पार्टटाइम जागिर गर्नेहरुले हप्ता दिनमै उनीहरुको पारिश्रमिक पनि प्राप्त गर्नेछन् ।

अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर यो रोजगारी सिर्जना गरिएको हो । कम्तिमा पनि दुई हजार जनालाई देशभर यसरी नै रोजगारी प्रदान गर्ने जनाइएको छ ।

प्रकाशित मिति: Sep 11, 2024

प्रतिक्रिया दिनुहोस्