Logo
४ आश्विन २०८१, शुक्रबार
(September 8, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड भन्छन्,’सत्ता खलबलाउन होइन, पार्टी सबल बनाउन लाग्दैछौं’

विराटनगर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले सरकार गठन गर्ने रुची नरहेको बताएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष दाहालले माओवादी पार्टी बनाउने अभियानमा जुटिरहेको हुँदा सत्ता बनाउनेतर्फ तत्काल अघि नबढ्ने बताएका हुन्।

पत्रकारसँग पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने,’अहिले हामी सत्ता बनाउने खेलमा लाग्दैनौं। हामी सरकार भन्दापनि पार्टी बनाउने अभियानमा केन्द्रित छौं। यसक्रममा प्रदेशभर परामर्श बैठक गरिएको छ। बरु एमाले-कांग्रेसलाई धन्यवाद दिनुपर्छ। हामीलाई पार्टी पुनःनिर्माण गर्ने अवसर दिएकोमा।’

एमालेसँग सत्तामा रहेको कांग्रेससँग पुनःमिलेर अर्को गठबन्धन बनाउने चर्चा चलिरहेको विषयलाई प्रस्टाउँदै उनले भने,’कांग्रेससँग मिलेर माओवादीले सरकार बनाउने हल्ला मात्र हो। यो गलत हो। अहिले हामी पार्टी बनाउन केन्द्रित छौं।’

एक अर्को प्रसंगमा पूर्वप्रधानमन्त्री दाहालले नेपाललाई बंगलादेश बनाउने भनेर नभनेको दाबी गरेका थिए। उनले भने,’दुईतिहाई बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस्, बंगलादेशमा पनि दुईतिहाई थियो नि त, त्यसले त काम गर्दो रहेछ त? सतर्क हुन जरुरी छ। नेपाललाई बंगलादेश बनाउने भनेर भनेकै छैन।’

त्यसैगरी, दाहालले उत्पीडित वर्ग समुदायले पाएको प्रमुख अधिकार समानुपातिक र समावेशी नै भएको बताए। यद्यपि, उनले संविधानसभाबाट एकहदसम्म जनतालाई अधिकार प्राप्त भएको उल्लेख गरे। उनले भने,’सबैभन्दा धेरै अधिकार मधेशी र मुस्लिम समुदायले पाएका छन्। नागरिकताको समस्यादेखि मिटरब्याजको समस्या समाधान गर्न कानुन बनाएरै काम गर्यौं।’

प्रकाशित मिति: Sep 8, 2024

प्रतिक्रिया दिनुहोस्