Logo
३१ भाद्र २०८१, सोमबार
(September 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए/नपाएको अनुगमन गर्छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्न विद्यार्थीलाई प्रदान गरिँदै आएको छात्रवृत्ति अनुदान रकम विद्यार्थीले पाए/नपाएकाबारे सरकारले अनुगमन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसकुकमार्फत उनले सबै स्थानीय तहमा यस विषयमा अनुगमन गरिने जानकारी गराए ।

प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयमा कक्षा (६-१०) का विपन्न विद्यार्थीका लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्न वार्षिक २४ हजार रूपैयाँ अनुदान दिन सरकारले ६० करोड बजेट अनुदान दिइरहेको बताए ।

‘दुर्गम तथा अन्य क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत २२ वटा सूचीकृत जाति र सीमान्तकृत वर्गका गैरआवासीय विद्यार्थीका लागि प्रतिविद्यार्थी वार्षिक एक हजारदेखि तीन हजार पाँच सयसम्म छात्रवृत्तिका लागि रकम प्रदान गरिएको छ । गैरआवासीय छात्रवृत्तिअन्तर्गत देशभरका १५ लाख ५० हजार विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । यसका लागि ५० करोड रकम विनियोजन भएको छ’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

ओलीले शैक्षिक दृष्टिले पछि परेका समुदाय, अतिविकट हिमाली जिल्लाका विद्यार्थीलगायत सातवटा लक्षित समूहका ११ हजार चार सय विद्यार्थीका लागि मासिक ५ हजारका दरले आवासीय छात्रवृत्ति प्रदान गरिएको समेत बताए ।

‘उल्लेखित छात्रवृत्ति रकम प्रत्येक स्थानीय तहका प्रतिविद्यार्थी लागत हिसाब गरी सशर्त अनुदानमा वित्तीय हस्तान्तरण गरिएको छ । यससम्बन्धी कार्यविधि शिक्षा मन्त्रालयको वेबसाइटमा राखिएको छ’, ओलीले भनेका छन् ।

प्रकाशित मिति: Sep 6, 2024

प्रतिक्रिया दिनुहोस्