Logo
३१ भाद्र २०८१, सोमबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुना हत्याका अभियुक्तलाई अदालतबाट मिलेन जमानत, आमालाई मिल्यो अमेरिकाको भिसा

काठमाडौं । अमेरिकामा नेपाली चेली मुना पाण्डेको हत्या आरोपी बबी सिंहलाई अदालतले जमानतमा छोड्न अस्वीकार गरेको छ । हिजो उनलाई ‘क्यापिटल मर्डर’ अभियोगमा अदालतमा पेश गरिएको थियो ।

ह्यूस्टनस्थित ह्यारिस काउन्टी क्रिमिनल कोर्टहाउसमा भएको सुनवाइमा सिंहका वकिलले जमानतको माग गरेका थिए । तर, न्यायाधीशले उनीविरुद्ध यथेष्ट प्रमाणहरू भएका कारण माग अस्वीकार गरेका छन् ।

सिंहलाई ९० दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशले अनुमति दिइन् । सुनवाइ १० मिनेटमै सकियो ।

सिंह मुनाको अपार्टमेन्टभित्र पसेको र हतियारसहित बाहिरिएको सर्भिलियन्स क्यामरा फुटेज सबैभन्दा बलियो प्रमाणका रूपमा पेश गरिएको थियो । यसै गरी, हत्याका बखत लगाएकै लुगा लगाएर डुलिरहँदा उनी पक्राउ परेका थिए । उनको कारबाट हतियार बरामद भएको थियो । रगतको टाटा लागेको उनको लुगा पनि अदालतमा पेश भएको छ ।

सिंहलाई अवैध हतियार बोकेको र हत्या गरेको दुईवटा अभियोग छन् । अवैध हतियारको सुनवाइमा पनि उनलाई जमानत मिलेको थिएन । यदि हत्या अभियोग प्रमाणित भएमा उनले आजीवन जेल सजाय भोग्नुपर्ने छ ।

यता नेपालमा मुनाकी आमा अनिता पाण्डेले अमेरिकाको भिसा प्राप्त गरेकी छिन् । अमेरिकी दूतावासले उनलाई हिजो भिसा दिएको हो । मुना एक-दुई दिनमा अमेरिका प्रस्थान गर्ने बुझिएको छ । आमा पुगेपछि मुनाको अन्त्येष्टि प्रक्रिया अघि बढाइने छ । अहिले उनको शव फ्यूनरल हाउसमा राखिएको छ ।

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्