Logo
३० भाद्र २०८१, आईतबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’

‘हामीलाई धेरै सुविधाहरु थिएन । अन्तिम समयमा एक महिनामात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो । अझै अघि बढ्नु छ ।’

१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् ।

आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

ऐतिहासिक सफलताको यो खुसीमा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा पलेसालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै भव्य स्वागत गर्दै नगर परिक्रमा गराइएको थियो । उनको स्वागतमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राखेपका पदाधिकारी र समर्थकहरु सहभागी थिए ।

स्वागत कार्यक्रममा पलेसाले आफूलाई एकदम खुसी लागिरहेको बताइन् । ‘म एकदम खुसी छु । मेरो यति धेरै हाइट हुन्छ भन्ने लागेको थिएन,’ उनले भनिन् ।

उनले ओलम्पिक पदकको लामो समयदेखिको प्रतिक्षा पूरा भएको बताइन् । नेपालका खेलाडीहरु पनि ओलम्पिकमा पदक जित्नलायक छन् भन्ने यो प्रमाण भएको उनले बताइन् । ‘सबैलाई नेपालले मेडल जित्दैन कि जस्तो लागेको थियो । तर मैले ल्याएँ’, उनले भनिन्, ‘सबै युवा तेक्वान्दो खेलाडिहरुले पनि देखिसक्नुभयो कि यो सम्भव छ ।’

पलेसाले यो सुरुवात मात्र भएको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन् । ‘हामीलाई धेरै सुविधाहरु थिएन । अन्तिम समयमा एक महिनामात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो । अझै अघि बढ्नु छ ।’

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्