Logo
३० भाद्र २०८१, आईतबार
(September 4, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनावलगत्तै गिर्‍यो नेकपा एसको ‘एक विकेट’- साइनबोर्ड निकालेर जिल्ला इन्चार्ज र सिंगो कमिटी एमालेमा

पोखरा । गत असारमा भएको नेकपा एकीकृत समाजवादीको महाधिवेशनपछि जिल्ला फर्किएर बागलुङका नेताले एउटा निर्णय गरेर केन्द्रमा पठाए । दुई विषयमा निर्णय नै गरेर जिल्ला कमिटीले पार्टी नेतृत्वलाई पठायो- पार्टी विभाजनको मर्मअनुसार अगाडि जान सकेन र केन्द्रीय कमिटीमा सक्षमभन्दा आफ्ना मान्छे राखियो ।

उनीहरूको चाहनाअनुसार नेतृत्व आउन सकेन र केन्द्रीय कमिटीमा आएका व्यक्तिहरूप्रति पनि उनीहरू सन्तुष्ट भएन र सोही कुरा निर्णयमार्फत पार्टी नेतृत्वलाई जानकारी गरायो ।

उसो त बागलुङका नेताहरूसँग महाधिवेशनकै क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल चिढिएका थिए । बागलुङका अधिकांश नेता अहिलेका महासचिव घनश्याम भुसाललाई नेतृत्वमा लग्न चाहन्थे । तर, माधव नेपाल नै नेतृत्वमा आएपछि उनीहरू असन्तुष्टि भएका त थिए नै उनीहरूसँग अध्यक्ष नेपाल पनि कड्किएका थिए । त्यसपछि पार्टी नेतृत्वले बागलुङलाई हेर्ने नजर नै फेरियो ।

‘महाधिवेशनबाट केही गर्न सकौँला की नयाँ तन दिने हिसाबले, रक्तसञ्चार गराउने हिसाबले हामीले महासचिव कमरेडलाई अनुहार बदलिँदा जनतामा आशा सिर्जना हुन्छ अब नेतृत्व तपाईँले नै गर्नुपर्छ है भन्यौँ । तर, परिस्थिति घनश्याम कमरेड अगाडी बढ्ने अवस्था बनेन । पुरानै नेतृत्व आउने स्थिति बन्यो । त्यसले हाम्रो ठुलो अपेक्षामा तुसारापात गर्ने काम भयो,’ एस छोडेर एमाले फर्किएका श्रीप्रसाद शर्माले भने ।

महाधिवेशनपछि उनीहरूले निर्णय गरेरै असन्तुष्टि जनाएपछि भने पार्टी नेतृत्व उनीहरूप्रति झनै असन्तुष्ट बढेको थियो । भदौ ११ गते पार्टीको पदाधिकारी निर्वाचन भयो । केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज श्रीप्रसाद शर्मासहितका नेता पदाधिकारी निर्वाचनमा सहभागी भएर फर्किए । त्यहाँबाट फर्किएको भोलिपल्टै नेकपा एस बागलुङले पुनः अर्को निर्णय गर्‍यो । त्यो निर्णय भने पार्टी नेतृत्वप्रतिको असन्तुष्टि थिएन । जिल्ला कमिटीलाई नै एमालेमा समाहित गराउने निर्णय थियो । विद्रोहको तात्त्विक फरक हुन नसक्दा पुनः एमालेमै फर्कने स्थिति बनेको शर्मा बताउँछन् ।

उनी भन्छन्, ‘विद्रोहको चेतबाट निर्माण भएको पार्टी राजनीतिक हिसाबले जुन क्रान्तिकारी, लक्ष्य, उद्देश्यसहित आफूलाई जसरी लिएर आउनुपर्ने थियो । तर, त्यसको रवैया तात्वुक हिसाबले फरक शैली, तरिका अवलम्बन गर्न सकेन । त्यस कारण हामी एमालेमा समाहित भएको हो ।’

नेकपा एस बागलुङ इन्चार्ज शर्मा, जिल्ला अध्यक्ष लालबहादुर थापासहित उपाध्यक्ष, सचिव, उपसचिवसहित सबै कमिटी बिहीबार एमालेमा समाहित भएको घोषणा गरे । उनीहरूले एकीकृत समाजवादीको माइन्यूट एमालेलाई बुझाए । माइन्यूट बुझाएको विषयमा भने एमाले बागलुङ जिल्ला अध्यक्ष हीरा केसीले दुईटा पार्टी एउटै भएको भन्ने सांकेतिक रूपमा मात्र भएको बताए ।

सिंगै जिल्ला कमिटी एमालेमा समाहित भएपछि नेकपा एस जिल्ला कमिटीको साइन बोर्ड नै हटाइएको छ ।

‘एमालेको नेतृत्वसँग विमति भएर त्यसैको गर्भबाट जुन पार्टी निर्माण गरेका थियौँ । अहिले हामीले एमालेमै योगदान दिने हिसाबले वातावरणका लागिरहेका छौँ । हिजो हामीले एमालेमा लगाएका कयौँ दागहरू अब असान्दर्भिक भइसके भन्ने सन्देश जान्छ,’ उनले भने ।

तत्कालीन समयमा नेतृत्वप्रति असमझदारी भए पनि पार्टीप्रति कुनै विमति नरहेको शर्माले बताए । ‘तत्कालीन समयमा गर्न नहुने र अराजनीतिक घटना क्रम भयो । त्यो आपत्तिजनक छ भनेर हामी फरक पार्टीमा उभिएका हौँ । मूलभूत रूपमा एमाले पाटीसँगको त्यो किसिमको विमति आधारभूत हिसाबले थिएन,’ उनले भने ।

पुरानै सरहको पद दिइने

एकीकृत समाजवादी बागलुङको सिङ्गो टोलीलाई फर्काउने प्रयास तत्कालको पहलले मात्र सम्भव भएको होइन । यसअघि पनि पटक-पटक एमाले र एसबीच छलफल भइराखेको थियो । यी दुई दलले ३-३ जनाको कार्यदल नै बनाएर वार्तासमेत गरेका थिए । निरन्तर वार्तामा रहेका नेकपा एस बागलुङका नेताहरू महाधिवेशनपछि झनै चिढिएका थिए ।

निरन्तरको छलफल र वार्तापछि उनीहरूलाई एमालेमा फर्काउन सफल भएको एमाले बागलुङ अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए । उनले बागलुङमा नेकपा एसमा गएका सबै पुरानो र अगुवा नेता एमालेमा फर्किसकेको बताए ।

‘सबैसँग कुरा गर्दा निष्कर्ष निकाल्न सकिँदैन भनेर कार्यदल बनाएर निरन्तर छलफल, भेटघाट, कुराकानी गर्ने भइरह्यो । कार्यदलमा भएका कुरा दुवैतर्फ सचिवालय बैठक राखियो । बैठकमा सकारात्मक रूपमा लियो,’ उनले भने ।

निरन्तर छलफल भए पनि गत असारमा भएको महाधिवेशनपछि छलफल सकारात्मक भएको थियो । महाधिवेशनबाट आफूले चाहेको नेतृत्व नआइसकेपछि उनीहरू पार्टी गतिविधिबाट टाढिएका थिए ।

‘महाधिवेशनमा गएर आइयो । महाधिवेशनमा पनि राम्रा सङ्केत देखिएनन् । जे उद्देश्यले विद्रोह गरिएको हो । नेतृत्वले त्यो उद्देश्य पूरा गर्ने देखिएन । बार्गेनिङ गरेर सत्तामा जान सकिन्छ की भन्ने दाउपेचमा छ । हिजो हामीले नेतृत्व रोजियो पार्टी छोडियो । अब हामीले नेतृत्व छाडेर पार्टी रोज्ने मुडमा छौँ । निष्कर्षमा पुराऊ भन्नुभो,’ एमाले प्रवेश गरेको नेतालाई उद्द्धृत गर्दै बागलुङ अध्यक्ष केसीले भने ।

पार्टी प्रवेश गरेका नेतालाई व्यवस्थापन गर्न एमाले बागलुङले एउटा कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट जिल्ला इन्चार्ज मनकुमारी केसी, हीराबहादुर केसी, इन्द्रलाल सापकोटा र डा. सूर्य पाठक छन् । प्रवेश गरेकाहरूबाट श्रीप्रसाद शर्मा, लालबहादुर थापा र भरत पूरी छन् । अध्यक्ष केसीकाअनुसार पार्टी प्रवेश गरेकालाई एमालेमै भएका बेलाको अथवा सोसरहको पदमा व्यवस्थापन गरिनेछ ।

प्रकाशित मिति: Sep 4, 2024

प्रतिक्रिया दिनुहोस्