Logo
३१ भाद्र २०८१, सोमबार
(September 2, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि मन्त्रालयका लागि ४ सहसचिव र ५५ उपसचिवसहित १२९ दरबन्दी सिर्जना

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका परियोजना सञ्चालनका लागि ४ सहसचिव र ५५ उपसचिव सहित १२९ स्थायी दरबन्दी थप गरेको छ ।

मन्त्रिपरिषद्को भदौ १३ को बैठकले कृषितर्फ संघीय सरकार अन्तर्गत ४ सहसचिव, ५५ जना उपसचिव र ७० जना अधिकृतको दरबन्दी थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि मन्त्रालय अन्तर्गतका विभिन्न ८ वटा परियोजनाको अस्थायी दरबन्दीमा खटाउने गरी स्थायी पुल दरबन्दी थप भएको हो ।

मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयअन्तर्गत रहने आयोजना कार्यान्वयन समूहको प्रस्तावित दरबन्दी तेरिज स्वीकृत गर्ने क्रममा १२९ जनाको दरबन्दी थप गरेको हो ।

कृषि सेवा अन्तर्गत लाइभ स्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट, बागवानी, बाली विकास र एग्री इको एण्ड मार्केटिङ समूहमा ४ सहसचिवको पद सिर्जना भएको र कृषि प्रसार, बागवानी, बाली संरक्षण, बाली विकास, एग्री इको एण्ड मार्केटिङ, एग्री इन्जिनियरिङ, लाइभ स्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट, भेटेरिनरी र मत्स्य समूहमा उपसचिवको ५५ दरबन्दी थप गरिएको मन्त्री अधिकारीले बताए । त्यस बाहेक बाँकी ७० जना सबै अधिकृतको दरबन्दी थप गरिएको हो ।

मन्त्रालयका अनुसार थप भएका दरबन्दीका कर्मचारीलाई विभिन्न परियोजना सहित चोभार सुख्खा बन्दरगाह, भैरहवा विमानस्थल, पोखरा विमानस्थललगायतका स्थानमा पठाइनेछ ।

प्रकाशित मिति: Sep 2, 2024

प्रतिक्रिया दिनुहोस्