Logo
३१ भाद्र २०८१, सोमबार
(September 1, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोरङमा केराको बगानभित्र २ बालिका मृत भेटिए, आमा बेपत्ता

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुई नाबालिग मृत भेटिएका छन् । उनीहरूकी आमा पनि बेपत्ता छिन् । घरमा श्रीमानसँग सामान्य झगडापछि २९ वर्षीया अस्मिता न्यौपाने छोरी लिएर हिँडेको बताइएको छ । धनकुटा घर भएका अर्जुन कार्कीको परिवार सुन्दरहरैँमा बस्दै आएको थियो ।

बन्दै गरेको घरमा पानी नहालेको विषयमा उनीहरूबीच विवाद भएको प्रहरीले बताएको छ । छोरीहरू १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की हिजो दिउँसो एकैठाउँमा मृत फेला परेका हुन् ।

स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र दिदी आयिकाले बाहिनी अर्पणालाई अँगालो मारेको अवस्थामा शव भेटिएको बेलबारी प्रहरीले जनाएको छ । आमा अस्मिता भने सम्पर्कविहीन रहेकाले खोजी भइरहेको इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले नेपाल प्रेसलाई बताए ।

घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इन्स्पेक्टर दाहालका अनुसार बालिकाहरूको शव नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा फेला परेको छ ।

‘बाहिरी चोटपटक देखिएको छैन । घटनास्थलमा मेटासिटको बट्टा फेला परेको छ,’ दाहालले भने, ‘दिदीले बहिनीलाई अँगालो मारेको अवस्थामा दुवैको शव भेटिएको हो । घटनास्थलको प्रकृति हेर्दा विष खुवाएर हत्या गरेजस्तो देखिन्छ ।’

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । अस्मिताले मोबाइल पनि केरा घारीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहानैबाट न्यौपानेको खोजी कार्य भइरहेको छ । स्थानीय र प्रहरीले सुन्दरहरैँचा आसपासको जंगलमा खोजी जारी राखेका छन् ।

२ छोरी मृत भेटिएको ठाउँ र नजिकैको जंगलमा खोजी गर्दा पनि आमा अहिलेसम्म नभेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

धनकुटाको पख्रिबास नगरपालिका-४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा-७ मालती टोलस्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनले नजिकै आफ्नो लागि घर बनाउँदै थिए ।

प्रकाशित मिति: Sep 1, 2024

प्रतिक्रिया दिनुहोस्