Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्डको निश्कर्षः जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थाल्यो

काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् । पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले सरकारी स्तरमा थालिएको सुशासनको उक्त अभियान नेपालको इतिहासमा पहिलो रहेको बताएका हुन् ।

‘सुशासन, सामाजिक न्याय र आर्थिक विकासको मूल संकल्पसहित मेरो नेतृत्वको सरकार १९ महिनासम्म चल्यो ।’ उनले भने, ‘यी तिनवटै क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए अझ मुख्य गरी सुशासनको क्षेत्रमा नयाँ रेकर्ड नै स्थापित भएको छ। यति उच्चस्तरबाट अघि बढाइएको भ्रष्टाचारविरुद्धको सरकारी अभियान अहिलेसम्मकै पहिलो हो ।’

सबै खालका भ्रष्टाचारको फाइल खोल्नु र ललिता निवास, बाँसबारीसहित देशका विभिन्न स्थानमा भूमाफियाहरुले व्यक्तिका नाममा बनाएको सरकारी जग्गा पुनः सरकारकै नाममा ल्याउनु चानचुने विषय नभएको प्रचण्डको भनाइ थियो । माओवादी संख्याले सानो हुँदाहुँदै पनि भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा यति ठूलो अभियान चलाएको देखेर विरोधीहरुमा छटपटी पैदा भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको सरकारले गरेको कामबाट जनता उत्साहित हुँदै गरेको अवस्थामा दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भएको बताए । पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको नेतृत्वमा छटपटी पैदा भएको र त्यसको परिणामस्वरुप रातारात सहमति गरेर सरकार बनाइएको घामजत्तिकै छर्लङ रहेको उनले बताए ।

कांग्रेस–एमालेले नेतृत्व लिँदै गर्दा हारेर गएजस्तो र माओवादी सरकारबाट निस्कदा जितेर निस्केजस्तो माहोल बन्न पुगेको उनको भनाइ छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा आफने तेस्रो कार्यकाल पार्टी र आन्दोलनका लागि ठूलो पूँजी भएको बताए ।

कांग्रेस एमालेले अहिले माओवादीलाई कमजोर बनाउने नाममा बलिदानीपूर्ण संघर्षबाट स्थापित भएकाृे एजेण्डालाई कमजोर बनाउन चाहेको प्रचण्डको आरोप छ । वर्तमान सरकारले आफू नेतृत्वको सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि निष्तेज पर्न खोजेको प्रचण्डले बताए ।

उनले सरकारबाट माओवादीलाई कमजोर पार्न हुनसक्ने सबै षड्यन्त्रका विरुद्ध जनतालाई सचेत बनाउँदै अघि बढ्नुपर्ने बताए । पार्टीलाई बलियो र एकताबद्ध बनाउनुपर्ने आवश्यकक्ता औैंल्याउँदै उनले सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन दिए ।

अध्यक्ष प्रचण्डले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौं नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौं श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेर नयाँ आशाको जागृत गरिएको पनि स्पष्ट पारे । सुशासन र सामाजिक न्यायसँगै आर्थिक समृद्धिको एजेण्डा पनि स्थापित हुँदै गएको उल्लेख गर्दै उनले भने, ‘हामीले सरकारको नेतृत्व लिंदै गर्दा धेरैले हाम्रो अर्थतन्त्रलाई श्रीलङ्कासँग तुलना गरिरहेकाका थिए तर अर्थतन्त्र पुनरुत्थानका लागि लिइएका नीतिगत पहलका कारण अर्थतन्त्रमा देखिएका संकट क्रमशः समाधान हुँदै अर्थतन्त्रले पुरानै लय समात्न थालेको छ।’

आफ्नो नेतृत्वको सरकारले जलवायु परिवर्तनका मुद्दामा लिएको पहल पनि विश्वले हेर्न लायक बनेको उनले बताए । ‘अहिलेको विश्वको ठूलो समस्याको रुपमा जलवायु परिवर्तनको असर देखा पर्दैछ र त्यसको मार सबैभन्दा बढी नेपालजस्ता मुलुकहरुले खेपिरहेका छन्’– अध्यक्ष प्रचण्डले भने, ‘यो मुद्दामा हामीले गरेको हस्तक्षेपपूर्ण पहलले विश्वको ध्यान राम्रोसँग नेपालमा केन्द्रित भएको छ। मैले संयुक्त राष्ट्रसंघमा गरेको अपिल तथा गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाटसंयुक्त राष्ट्रसंघका महासचिव र आफूले विश्वलाई गरेको आह्वान नयाँ कदमको रुपमा स्थापित भएको छ।’

आफू नेतृत्वको सरकारले थालेका सबै काम देश, पार्टी र आन्दोलनका पूँजी भएकाले अब यी एजेण्डालाई संस्थागत र सुदृढ गरेर लैजानुपर्ने उनको भनाइ थियो । ‘नेपालमा जे जति राजनीतिक परिवर्तन भएको छ, अधिकारबाट वञ्चित सबै समुदायलाई मूलधारमा ल्याउने गरी जसरी संविधान निर्माण गरिएको छ, यो माओवादी आन्दोलनकै उपलब्धि हो’– अध्यक्ष प्रचण्डले थने, ‘यो गौरवपूर्ण इतिहास र पटकपटक हामीले सरकारको नेतृत्व गर्दा उर्जा, सञ्चार, सुशासन, सामाजिक न्याय लगायतका क्षेत्रमा प्राप्त गरेका उपलब्धिको जगमा नै अब पार्टीलाई सुदृढ र बलियो बनाएर लैजान सकिने छ।’

जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थालेको बताउँदै उनले अहिलेका चुनौतीको सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने बताए । बलियो पार्टी बनाउने अहिले पदाधिकारीको मुख्य टिम नै सबै प्रदेशमा त्यहाँ कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सुझाव लिने नयाँ अभ्यास थालिएको पनि प्रचण्डले बताए ।

सबै प्रदेशबाट प्राप्त सुझावका आधारमा दस्तावेज तयार पारेर आगामी केन्द्रीय समिति बैठकमा पेश गरिने प्रचण्डले बताए । आजदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय परामर्श बैठक भोलिसम्म चल्ने छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले परामर्श बैठक गर्दै आएको छ। अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी पाँच प्रदेशको परामर्श बैठक सम्पन्न भइसकेको छ।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्