Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा बलियो शक्ति बनेर नआए देश ठूलो दुर्घटनामा जान्छ: अध्यक्ष लिङदेन

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकविहीन भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरू नै अस्थिरताको कारक रहेको पनि बताए।

उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरूले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए।

उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावकविहीन भएको अवस्थामा छ। नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन्। उनीहरु स्वयं अस्थिरताको कारक छन्। आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रुपमा उपयोग गर्न खोजिरहेका छन्।’

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा सामान्य कुरा नभएको पनि बताए। राप्रपा अब पनि बलियो शक्ति नबने देशले अझै कष्ट बेहोर्नुपर्ने उनकाे भनाइ छ।

उनले भने, ‘नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा भनेको सामान्य कुरा होइन। काँग्रेस र कम्युनिष्टहरूले कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन्। यही काँग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ। हामी साँच्ची छौँ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ।’

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताए।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्