Logo
३१ भाद्र २०८१, सोमबार
(August 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक कमिटीको पदाधिकारीमा महिला सहभागिता बढाउनुपर्छ : परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले पार्टीभित्र संविधानले महिलाहरूलाई दिएको अधिकार संरक्षण हुनुपर्ने माग गरेकी छिन् ।

काठमाडौँमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिद्वारा आयोजित तीज पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै डा राणाले पार्टीको केन्द्रदेखि गाउँ, वडा तहसम्म पदाधिकारीमा महिलालाई स्थान दिइनुपर्ने बताइन् । उनले महिलाहरूलाई मनोनयन होस् वा निर्वाचित जे गरेर हुन्छ पदाधिकारीमा ल्याउन सुझाव दिइन् ।

उनले भनिन्, ‘पार्टीभित्र पनि संविधानमा लेखेको जस्तो पार्टीभित्र पनि अझै धेरै पदाधिकारीको पद बढाउनु पर्छ । चाहे त्यो मनोनयन होस्, या निर्वाचित होस् । यो चाहिँ राख्नुपर्छ । यो केन्द्रमा मात्रै होइन । पार्टीको हरेक ठाउँमा राख्नुपर्छ ।’

‘हामी सक्षम भइसक्यौँ । हामीलाई अनुभव भइसक्यो’, परराष्ट्रमन्त्री डा राणाले भनेकी छिन् । उनले भनिन्, ‘एक पटक समानुपातिकमा आएपछि महिलाहरू राजनीतिबाट रिटायर्ड गरिदिने त ? यति धेरै सङ्घर्ष गरेर त्यहाँसम्म पुगेको महिलालाई हामीले छुटाउन मिल्दैन ।’

‘महिलाहरू पुरुषभन्दा कमजोर छैनन् । महिलाहरू भनेका सृष्टि हुन्’, मन्त्री डा राणाले भनेकी छिन् । ‘हामी हमेसा अरू भूमिकालाई प्राथमिकता दिएर काममा लागेका हुन्छौँ । धेरै कम समय हामीले आफ्नो बारेमा सोच्छौँ । म को हुँ । मेरो के इच्छा छ ?मेरो स्वास्थ्यको अवस्था के छ ? खाना खाएँ की खाएन? पानी पिएँ की पिएन ? यो कुरामा वास्ता गर्दैनौँ’, उनले भनिन् ।

‘हामीले यो समाजलाई हुर्काउँछौँ । हामीले सृष्टिलाई नै संरक्षण गरेर चलाएका लगेका हुन्छौँ । महिलाहरूमा खुबी छ । हामीले आफूलाई गर्व गर्नुपर्छ’, मन्त्री डा राणाले भनेकी छिन् ।

बागमती कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले पनि महिला दिदी बहिनीहरूलाई तीज पर्वको शुभकामना दिँदै राज्यका हरेक निकायमा स्थान दिइनुपर्ने बताए । उनले महिलाहरूको शक्तिलाई एक बनाउने हो भने कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्ने र मुलुकको विकासमा विशेष सहयोग हुने बताए ।

तीज कार्यक्रममा सहभागी हुन आएकी कांग्रेस नेतृ एवम् परराष्ट्रमन्त्री डा राणालाई बागमती कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँ, बागमती कांग्रेसकी सहमहामन्त्री जीवन डङ्गोल, केन्द्रीय सदस्य डिला संग्रौला, चित्रलेखा यादव, नेतृ ज्योत्सना साउद लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति: Aug 30, 2024

प्रतिक्रिया दिनुहोस्