Logo
३१ भाद्र २०८१, सोमबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजुरआमाको काखमा पुगिन् ममता काफ्लेकी छोरी, नेपाली समूदायबाट साढे ३ कराेड संकलन

काठमाडौं । अमेरिकामा वेपत्ता भएकी ममता काफ्लेको विषयमा प्रहरी अनुसन्धान जारी रहँदा नेपाली समूदायलाई उनकी एक वर्षकी छोरीको बारेमा चासो र चिन्ता छ ।

ममताका श्रीमान नरेश भट्ट पक्राउ पर्दा उनकी छोरीलाई प्रहरी अधिकारीले ब्ल्यांकेटमा छोपेर सेफ हाउसतर्फ लगेका थिए ।

खुशीको खबर के छ भने ‘मिनी ममता’ (प्रहरीले दिएको नाम) ले अहिले आफ्नी हजुरआमाको काख पाएकी छन् । ममताकी आमा र भाइ मंगलबार बिहान अमेरिका पुगेका थिए । पुगेलगत्तै उनीहरुले ‘मिनी ममता’ लाई जिम्मा लिएका हुन् ।

ममताकी आमालाई अमेरिका ल्याउन पहल गरेकी इमिग्रेसन वकिल बन्दा शर्मा दाहाल उनीहरुलाई ‘प्राइभेसी’ दिन अपिल गरेकी छन् ।
‘उहाँहरु अरुसँग कुरा गर्ने अवस्थामा हुनुहुन्न, केही समय उहाँहरुलाई कुनै पनि दख्खल नदिन आग्रह गर्छु,’ उनले भनिन् ।

दाहालका अनुसार हजुरआमा आउनुअघि ममताकी एक निकट साथीले उनको छोरीको हेरविचार गरिरहेकी थिइन् । ‘मिनी ममता’ लाई सबैले माया गरेको र उनी राम्रो अवस्थामा रहेको दाहाल बताउँछिन् ।

ममताकी छोरीका लागि नेपाली समूदायले आर्थिक संकलन अभियान चलाइरहेका छन् । गो फन्ड मार्फत अहिलेसम्म २ लाख ६० हजार डलर संकलन भइसकेको छ । साढे दुई लाख डलरको लक्ष्य राखेर अभियान सुरु गरिएको हो । गो फन्ड मीमै अर्को अभियानमा ३० हजार डलर संकलन भएको छ । संकलित सबै रकम ममताकी छोरीको भविष्यका लागि हो ।

ममताका श्रीमान नरेश प्रहरी हिरासतमा नै छन् । आज उनको ‘मोसन हियरिङ’ हुँदैछ । सुनवाइमा ममताकी आमा र भाइ अदालत नजाने बताइएको छ । उनीहरु मिडियासँग बोल्न सक्ने अवस्थामा छैनन् ।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्