Logo
५ आश्विन २०८१, शनिबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा एसका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको शपथ आज

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)का नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।

शपथ ग्रहण कार्यक्रम नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा आज बिहान ११ बजे हुने भएको हो। बैठकमा शपथ लिने पदाधिकारी, पोलिटब्युरोसहित पार्टीका केन्द्रीय कमिटी सदस्यहरुको उपस्थिति रहनेछ।

शपथलगत्तै पार्टीको केन्द्रीय कमिटी बैठक बस्ने तय भएको छ। बैठकमा नेताहरुको योगदानका आधारमा जिम्मेवारी तोक्ने र पार्टीका आगामी योजना तथा कार्यक्रमबारे छलफल गर्ने तयारी भएको पार्टीका एक नेताले जानकारी दिए।

हिजो भएको निर्वाचनमार्फत १८ केन्द्रीय पदाधिकारी निर्वाचित भएका छन्।  वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मंगलबार नै सर्वसम्मतिले निर्वाचित भएका थिए। बुधबार सार्वजानिक मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित भएका हुन्। उपाध्यक्ष (खुला)मा जगन्नाथ खतिवडा, डा.गंगालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित भएका हुन्।

यसैगरी, उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित भएका हुन्। पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन भएका हुन्।

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो।

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्