Logo
३१ भाद्र २०८१, सोमबार
(August 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पौने ५ लाख खर्चेर दुबई पुगेका सन्तोष : काम माग्दा यातना, बोल्दा तातो दाल मुखमै झोसियो

जनकपुरधाम । देशमा रोजगारी पाइँदैन । बाध्य भएर पढेलेखेका युवाहरू पनि जोखिम मोलेर खाडी मुलुक जान खोज्छन् । र, उनीहरू एजेन्टबाटै ठगिन्छन् ।

एजेन्ट मोटो रकम मात्र ठग्ने गरेका छैनन्, चरम यातना पनि दिन्छन् । राम्रो काम खोजिदिने भनेर टुरिस्ट भिसामा विदेश लग्ने र काम नदिई यातना दिएर घर पठाउने गरेको घटना सार्वजनिक भएको छ ।

एजेन्टबाट ठगिएका र चरम यातना खेपेका एक युवा नेपाल प्रेसको सम्पर्कमा आएका छन् । उनी हुन्- धनुषाको हँसपुर नगरपालिका ४ का २५ वर्षीय सन्तोष ठाकुर ।

सन्तोष होटल म्यानेजमेन्ट पढेका छन् । नेपालमा काम पाउनै मुस्किल भयो । त्यसपछि उनी विदेश जाने सोच बनाए । राम्रो मान्छे (एजेन्ट) खोज्न थाले । सो क्रममा विदेश पठाउने काम गरिरहेका उनका आफ्नै छिमेकी जितन ठाकुरसँग सम्पर्क भयो ।

जितनका भाइ सिकेन्द्र ठाकुर दुबई बस्छन् । सिकेन्द्रले दुबईबाट भिसा पठाउँछन् । र, सो भिसामै सिकेन्द्र मान्छे खोजेर दुबई पठाउँछन् ।

जितन र सिकेन्द्र छिमेकी दाजुभाइ रहेकाले धोका नदिनेमा सन्तोष विश्वस्त भए । टुरिष्ट भिसामा दुवै जान पौने ५ लाख रुपैयाँ तिर्ने भनेर सन्तोष मौखिक सहमति गरे ।

सबै प्रक्रिया पुरा भएपछि गत जेठ २५ मा सन्तोष दुबई पुगे । त्यहाँ पुगेपछि अब पैसा कमाउने दिन आयो भनेर उनले सोचेका थिए । तर कहिल्यै नसोचेको जति यातना झेले ।

दुबई पुगेपछि एक सातासम्म सन्तोषलाई त्यतिकै कोठामा राखे । काम खोजिदिन आग्रह गरेपछि एजेन्ट सिकेन्द्रले एउटा कम्पनीमा इन्टरभ्यूका लागि पठाएको सन्तोषले सुनाए ।

उनले नेपाल प्रेससँग भने, ‘इन्टरभ्यू दिएँ । त्यहाँ कमिसन माग्यो । तर एजेन्ट जितेन्द्रले कमिसन दिन मानेनन् । त्यसपछि काम पाइनँ ।’

जितेन्द्रले अहिले पैसा छैन भनेपछि आफै २५/३० वटा कम्पनीमा पुगेको बताउँदै सन्तोषले भने, ‘इन्टरभ्यू दिन्थे, राम्रै भन्थ्यो । तर सबै ठाउँमा कमिसन माग्थ्यो । आफूसँग पैसा थिएन । कहाँबाट कमिसन दिनु ? कतै काम पाएनौँ ।’

काम खोजेर भनेर बोलाएको अनि अहिले काम नखोज्दिने भनेर दबाब दिन थालेपछि जितेन्द्रले आफ्ना मान्छेबाट यातना दिन लगाएको सन्तोषको भनाई छ ।

‘साँझ बिहान मबाटै खाना पकाउन लगाउन थाल्यो’, सन्तोषले दुबईमा भोगेका यातनाबारे भने, ‘म सुतिरहेको थिए । जितेन्द्रका मान्छेले अचानक चेसबोर्ड लिएर मेरो आँखामै हिर्कायो । म अचेत भए । पछि होस् खुलेपछि जितेन्द्रलाई भने । उनले त उल्टै मेरो मोबाइल खोस्यो– घरमा फोन गरेर सबै कुरा भन्छन् भनेर ।’

आँखामा चेसबोर्डले हानेको बिहानपल्ट जितेन्द्रकै मान्छेले सन्तोषको अनुहारमा तातो दाल मुखमै झोसिदिए । उनको अनुहार कुरूप भयो । लामो समय उपचार गराए । तर अझै दाग मेटिएको छैन ।

सन्तोष भन्छन्, ‘मलाई जितेन्द्रले लगेको थियो । तर उनकै इशारामा मलाई यातना दिने काम भयो । यतिसम्म कि घरमा फोन गर्न दिइरहेको थिएन । मेरो पासपोर्ट पनि खोस्ने प्रयास गरियो ।’

चरम यातना दिन थालेपछि सन्तोषले रिस्क मोलेर एकजनासँग मोबाइल मागेर घरमा फोन गरे । सबै पीडा सुनाए । त्यसपछि उनको घरबाट जितेन्द्रलाई घर फिर्ता पठाइदिन दबाब पर्‍यो ।

अन्ततः गत साउन २० मा दुबईबाट घाउ बोकेर सन्तोष नेपाल फर्के । उनी भन्छन्, ‘पैसा कमाउने सोचेका साथ दुबई गएका थिए । तर कहिल्यै बिर्सिने दुःख, पीडा र घाउ बोकेर घर फर्किनुपरेको छ ।’

अहिले उनी एजेन्ट जितेन्द्र र उनका भाइ जितनले ठगेको रुपैयाँ फिर्ताका लागि प्रहरी कार्यालय धाइरहेका छन् । उनले ठगेको रकम फिर्ता गराइदिन र एजेन्टलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

चार लाख २६ हजार रुपैयाँ बैंकमार्फत् जितेन्द्रको परिवारलाई दिएको र जितेन्द्रका दाइ जितनले ४९ हजार रुपैयाँ नगद बुझेको सन्तोष बताउँछन् । उनका अनुसार दुबई जाने बेलामा काठमाडौंमै एक साता राखेर २०/२२ हजार रुपैयाँ खर्च गरायो । दुबईबाट फर्किन पनि ६० हजार रुपैयाँ जति खर्च भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको एक साता बित्न लाग्दा पनि अहिलेसम्म कुनै सुनवाइ नभएको उनको गुनासो छ ।

‘ऋण लिएर एजेन्टलाई पैसा दिएको थिए’, उनले भने, ‘तर आफ्नै मान्छे भएर पनि एजेन्टले मलाई बरबाद पारे । म दुबईबाट बाँचेर आएर त्यही ठूलो कुरा हो ।’

मृत्युको मुखबाट फर्केर गाउँमा आएपछि पैसा फिर्ता गराइदिन समाजका कैयौँ व्यक्तिलाई गुहारे तर एजेन्टले कसैको नसुनेको सन्तोषले सुनाए ।

उनले भने, ‘बाध्य भएर प्रहरीमा उजुरी दिए । प्रहरीले पनि केहि गर्न सकेका छैन । अब सिडिओ कार्यालय जाने सोचेको छु ।’

नोटः– नेपाल प्रेसबाट साभार

प्रकाशित मिति: Aug 29, 2024

प्रतिक्रिया दिनुहोस्