Logo
५ आश्विन २०८१, शनिबार
(August 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वविद्यालयलाई सधैँ निर्देशन दिइरहन सकिँदैन : मन्त्री भट्टराई

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले विश्वविद्यालयलाई सधैँ हस्तक्षेप गर्न नसक्ने बताएकी छन्। बुधबार मन्त्रालयमा शिक्षाबिटका पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन्। उनले विश्वविद्यालयको आफ्नै छुट्टै ऐन हुने भन्दै सधैँ मन्त्रालयले निर्देशन दिइरहन नसक्ने पनि स्पष्ट पारिन्।

उनले मन्त्रालयले विश्वविद्यालयलाई अफ्ठ्यारो पर्दा साथ दिने, सहयोग गर्ने, कमी कमजोरी औंल्याइदिने भएकाले सधैँ मन्त्रालयले हस्तक्षेप गर्न नसक्ने बताइन्। उनले सबैकुरा मन्त्रालयले गर्ने भए उपकुलपति, रेक्टर, रजिस्ट्रार, विभागीय प्रमुख, पाठ्यक्रम निर्देशकहरु किन चाहियो? भन्दै प्रश्न गरिन्।

उनले नेतृत्व गर्नकै लागि पदाधिकारी बनाएर पठाएको भन्दै विश्वविद्यालय कस्तो बनाउने र कसरी सञ्चालन गर्ने भन्ने स्पष्ट योजना विश्वविद्यालयसँग हुनुपर्ने बताइन्। उनले प्राविधिक शिक्षा, प्रदेश र स्थानीय तहमा व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताइन्।

मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने हस्तक्षेपको समग्र शैक्षिक सुधारका विषयमा राजनीतिक दलका शीर्ष तहका नेताहरुसँग छलफल गरेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयभित्र भइरहेको अवस्थालाई राजनीतिक दलहरुको प्रतिबद्धता नआउन्जेलसम्म मन्त्रालयले केही पनि गर्न नसक्ने बताइन्।

उनले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारीहरुले पनि कोसँग कस्तो व्यवहार गर्ने भन्ने मापदण्ड त आफ्नो पनि बनाउनुपर्छ। त्यसका लागि पनि म छलफलमा बस्दै छु। शिक्षा मन्त्रालयले विश्वविद्यालयलाई धेरै हस्तक्षेप गर्न सक्दैन। यसमा हामी स्पष्ट पनि हुनुपर्छ। आफ्नो ऐन एउटा छ। उसको कानून छ। अनि हामीले जतिबेला पनि हस्तक्षेप गर्न सक्दैनौँ।’

मन्त्री भट्टराईले सामुदायिक क्याम्पसमा काम गर्ने शिक्षकहरुको स्तर निर्धारण गर्नुपर्ने बताइन्। उनले शिक्षाको गुणस्तर, भवन, दरबन्दी, खेलमैदान, कम्पाउण्ड, शौचालय र खानेपानी नै अहिलेको बढी माग भएको विषय रहेको बताइन्।

दरबन्दीको कुरा अध्याधिक पेचिलो बनिरहेको पनि बताइन्। पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र छिटो एक दिनमै दिए पनि हुने तर ढिलोमा ५ दिन भन्दा पर जान नदिने गरी दिन निर्देशन दिएको पनि बताइन्।

 

प्रकाशित मिति: Aug 28, 2024

प्रतिक्रिया दिनुहोस्