Logo
३१ भाद्र २०८१, सोमबार
(August 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेकाे सम्झनामा ऐतिहासिक भगवती रथजात्रा

लुम्बिनी- पाल्पामा हरेक वर्ष निकालिने ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा मंगलबार हुँदैछ। नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा कृष्ण जन्माष्टमीको भोलिपल्ट उक्त जात्रा निस्कने परम्परा रही आएको छ।

२०५ औं विजयोत्सव एवं भगवती रथजात्रालाई राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अवलोकन गर्नुहुने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए। उनका अनुसार आज नै अमननारायणको रथ निकालिने भएको छ। यसवर्ष भगवती र अमननारायणको रथ निकाल्न तीथिले एकैदिन परेकाले आजैअमननारायणको रथ निकालिने भएको हो।

प्रजिअ काफ्लेले भगवतीको रथ निकाल्नु अघि तानसेनको नारायणथान मन्दिरबाट अमननारायणको रथ निकालेर उक्त रथले भगवतीको परिक्रममा पछि मात्र भगवतीको रथ निकालिने परम्परा रहेको जनाइएको छ।

तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ। लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ। नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलीपल्ट धुमधामका साथ विजय उत्सवस्वरूप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहँदै आएको छ।

तत्कालीन ब्रिटिश सेनालाई नेपाली फौजले पराजित गरेको सम्झनामा पाल्पामा विजय उत्सवस्वरूप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली फौजले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठूलो पर्व र जात्राको रूपमा परिचित छ। कर्णेल उजीर सिंह थापाले विसं १८७६ मा निर्माण गरेको रथलाई नै हालसम्म विजय जात्राको रुपमा सञ्चालन गरिँदै आएको छ।

ऐतिहासिक परम्परालाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री आचार्य

यसैबीच मुख्यमन्त्री चेतनारायण आचार्यले आज शुभाकामना सन्देश जारी गर्दै लुम्बिनी प्रदेशको समग्र विकासका लागि प्रदेशभित्रका सम्पूर्ण जिल्ला जोड्ने गरी पर्यटन सर्किटको विकास गर्ने सरकारले तयारी गरेको जानकारी दिएका छन्।

पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्राको अवसरमा मुख्यमन्त्री आचार्यले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबै समुदाय विशेषले मनाउने चाड, पर्व, रीतिरिवाज, परम्परा, धार्मिक मान्यतालाई बराबर सम्मान गरिने बताएका छन्।

‘सामाजिक रुपान्तरणका साथै जागरण र चेतना बृद्धिमा मौलिक परम्पराहरुको आआफ्नै भूमिका छन्। समाज विकाससँग यी परम्परा जोडिएका छन्,’ मुख्यमन्त्रीले शुभकामना सन्देशमा भनेका छन्, ‘प्रदेश सरकारले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिकस्थल तथा परम्परालाई समृद्धिसँग जोड्न चाहन्छ।’

मुख्यमन्त्री आचार्यले धार्मिक तथा सांस्कृतिक परम्पराले समुदायमा एकताको भावनाको विकास गराउने जनाउँदै विभिन्न जात, धर्म र समुदायका मानिसमा एउटै परम्परामा सहभागी हुन उहाँहरूबीचको सहकार्य र भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने बताए।

सन्देशमा धार्मिक र सांस्कृतिक परम्पराले हाम्रा पुराना रीतिरिवाज, परम्परा, धार्मिक मान्यतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्दै आएकाे उल्लेख छ।

प्रकाशित मिति: Aug 27, 2024

प्रतिक्रिया दिनुहोस्