Logo
५ आश्विन २०८१, शनिबार
(August 26, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकारी ठगेको प्रमाण भए ल्याएर आफ्नो घरको भित्तामा टाँसिदिन रवि लामिछानेको चूनौति

काठमाडौं, १० भदौ । रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आफूमाथि सहकारी ठगीको झुटो आरोप लगाएर पार्टीलाई कमजोर पार्न खोजिएको टिप्पणी गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा चितवन पुगेका लामिछोनले कांग्रेस र एमालेलक्षित गर्दै आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै आफू कमजोर नभएको टिप्पणी गरे ।

यसअघि सदनमा बोल्ने क्रममा कांग्रेस नेता गगन थापाले लामिछानेले सहकारीमा ठगी गरेको प्रमाण आफूसँग भएको भनेर दाबी गरेका थिए । लामिछानेले यसअघिपनि प्रमाण पेश भए राजनीतिबाट नै सन्यास लिने घोषणा गरेका थिए । उनले आजपनि त्यही कुरा दोहोर्याए । लामिछानेले थपे,‘सदनमा प्रमाण छ भन्दै कुर्लिनेहरूलाई प्रमाण भए मेरो घरको भित्तामा ल्याएर टाँसिदिन चुनौती दिन्छु । कीर्तेहरूले निकाल्ने पत्रिकामा ठूलाठूला हेडलाइन बनाउँदैमा म डराउँदिनँ ।’

सम्बोधनको क्रममा उनले नेपालमा भने हावा नचली पात हल्लिन थालेको टिप्पणी गरे । उनले भने,‘हाम्रोमा हावा नलागी पात हल्लँदैन भन्ने चलन छ, तर त्यो हावा हैन, उनीहरूले फोक्सो फुट्ने गरी फुकेका छ्न्, त्यो नक्कली हावासँग रवि लामिछाने तर्सिनेवाला छैन, अब म बाघ हुँ भन्न पनि मिलेन, भैसीले मारिदियो नत्र बाघ नै हुँ भनिन्थ्यो, तर जति कमजोर सोचेका छ्न् त्यति कमजोर त रास्वपा हैन, त्यति कमजोर घन्टी हैन, त्यति कमजोर रवि लामिछाने छैन ।’

यसअघि चितवनकै कार्यक्रममा उनले आफू रत्तिपनि विचलित नभएको जिकिर गरे । उनले आफूहरु सदनमा २१ जना भएपनि खास मानिसहरु रहेको सुनाए । उनले आफूहरुको प्रतिष्पर्धा भनेको अब बेथितिको विरुद्धमा हुने स्पष्ट पारे । उनले आफूहरुले पाउँदा जिम्मेवारी लिनको लागि तयार भएर बस्न पनि नेता तथा कार्यकर्तालाई सुझाए ।

उनले आफूहरुले केन्द्रमा नीति मन्थन जारी राखेकोले चितवनमा पनि त्यस्तै कार्यक्रम गर्न सुझाए । उनले आज प्रश्न गर्ने ठाउँमा भएपनि भोलि समस्या समाधान गर्नको लागि अहिलेदेखि नै तयारी गर्न आग्रह गरे । उनले अबको आशा र भरोसा भनेको नै रास्वपा भएको जिकिर गरे ।

प्रकाशित मिति: Aug 26, 2024

प्रतिक्रिया दिनुहोस्