Logo
४ आश्विन २०८१, शुक्रबार
(August 22, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कैलालीमा २ दिनदेखिको बाढी घटेन, ५ सय बढी घर डुबानमा

धनगढी । कैलाली जिल्लाको विभिन्न स्थानमा दुई दिनदेखि आएको बाढी हालसम्म घट्न सकेको छ । बुधबारदेखि अविरल परिरहेको वर्षाले यहाँको सबै खोला, नाला, नदीमा पानीको सतह बढेपछि आएको बाढी हालसम्म घट्न नसकेको हो ।

बाढीले यहाँको कैलारी गाउँपालिका, भजनी नगरपालिका, र गौरीगंगा नगरपालिकाको अधिकांश क्षेत्र डुबानमा परेको छ ।

गएराति तीन घण्टासम्म पनि कैलालीको विभिन्न स्थानमा भारी वर्षा भएपछि जनजीवन थप कष्टकर बनेको छ । डुबान प्रभावित क्षेत्रका स्थानीयमा रातभरि बिचल्ली भएको बताइएको छ । उनी जाग्राम बस्न बाध्य छन् । कोही नजिकको स्कुल, वडा कार्यालयहरूमा बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कैलालीमा ५ सय घर बाढीको डुबानमा परेका छन् भने १७ सय भन्दा बढी नागरिक प्रभावित भएका छन् ।

भजनी नगरपालिकामा सबैभन्दा बढी ४ सय बढी घर डुबानमा परेको जोशीले जानकारी दिए । कैलारी गाउँपालिकाको एक बढी घर डुबान परेका छन् । सो पालिकाको वडा नं. ५ का डुबान प्रभावित केही परिवारलाई वडा कार्यालयमा सारिएको जनाइएको छ ।

यसैबिच बुधबार कैलारी गाउँपालिका ५ बैजपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई बाढी बगाएको थियो । उनको उद्धारपछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ ।

प्रकाशित मिति: Aug 22, 2024

प्रतिक्रिया दिनुहोस्