लेदोसहितको पहिरोले डुम्रे–बेंसीसहर सडक अवरुद्ध
लमजुङ । लमजुङमा लेदोसहितको पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । आज बिहान यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गएरातिदेखि निरन्तर परेको पानीले सडक माथिबाट लेदोसहित ढुङ्गामाटो झरेर सडक अवरुद्ध हुँदा यात्रुहरु विचल्लीमा परेका छन् ।
पानी निरन्तर परिरहेको र सडकमा पहिरो आउनेक्रम जारी रहेकाले तत्काल सडक खुलाउन सम्भव नरहेको उनको भनाइ छ । यसै ठाउँमा यसअघिसमेत पटकपटक पहिरो झरेर सडक अवरुद्ध भएको थियो ।
दलालमाथि केही वर्षअघि ढुङ्गा खानी रहेको र सो खानीमा जमेको पानी फुटेर गत असार यता पहिरो आउन थालेको हो ।
बेँसीसहरदेखि तनहुँ, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा आवतजावत गर्ने सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । हिमाली जिल्ला मनाङ जानसमेत यही सडक हुँदै जानुपर्छ ।