Logo
५ आश्विन २०८१, शनिबार
(August 19, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विहार र हरियाणामा थप २५१ मेगावाट बिजुली बेच्ने द्विपक्षीय सम्झौता

 नेपालले द्विपक्षीय सम्झौता बमोजिम भारतका विहार र हरियाणा राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले  हरियाणा राज्यलाई थप १२५.८९ मेगावाट र विहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।

१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत विहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरूलाई बिक्री गरिने छ।

प्राधिकरणले हरियाणा राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।

नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म विहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै मध्यकालीन सम्झौता बमोजिम भारतका राज्यस्तरका वितरण कम्पनीहरूलाई बिक्री गरिने विद्युतको परिमाण ३६० मेगावाट पुगेको छ ।

आगामी अक्टोबरसम्म बिक्री गरिने विद्युतको बिक्री दर प्रति युनिट ८ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । गतवर्ष हरियाणालाई बिक्रीका लागि स्वीकृति दिएको १०९ मेगावाटको प्रति युनिट दर ८ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । यसमा भारतर्फको प्रसारण लाइन शुल्क, चुहावट, ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु प्राधिकरणले बेहोर्नु पर्ने छैन ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को रियल टाइम मार्केट, डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौता बमोजिम हरियाणा राज्यलाई बिक्री गरिरहेको छ।

भारतबाट स्वीकृति पाएसँगै अब विहारलाई पनि विद्युत् बिक्री सुरु हुनेछ । प्रतिस्पर्धी बजार र मध्यकालीन सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय पक्षबाट स्वीकृति पाएसँगै अब छिट्टै विहार र हरियाणामा थप विद्युत् निर्यात सुरु गरिने बताए।

‘स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सक्ने हुँदा अब एक हजार मेगावाटभन्दा बढी निर्यात गर्न सक्ने अवस्था बनेको छ, थप २०० मेगावाट निर्यात स्वीकृतिको प्रक्रियामा रहेको छ, छिट्टै स्वीकृति पाउनेमा विश्वस्त छौं’,कार्यकारी निर्देशक घिसिङले भने ‘अब विद्युत निर्यातको परिणाम बढ्दै जानेछ, चालु आवमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको छ ।’

११.६४ मेगावाटको दोर्दी– ११४.४५३ मेगावाटको मायाखोला,९.९९१ मेगावाटको डाउन पिलुवा,१०.६७ मेगावाटको तल्लो खारे,११.६४ मेगावाटको माथिल्लो खिम्ती,६.८ मेगावाटको माथिल्लो खिम्ती–२१४.४ मेगावाटको मोदी,१४.६ मेगावाटको गण्डक,१९.२१ मेगावाटको माथिल्लो सोलु र ११.६४ मेगावाटको दूधकुण्ड जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् विहारमा निर्यात हुनेछ । विहारसँग प्रसारण लाइन जोडिएका  कटैया, रक्सौल र रामनगर विन्दुमार्फत विद्युत् निर्यात गरिनेछ ।

७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२बाट उत्पादित १२५.८९ थप विद्युत् हरियाणा राज्यमा बिक्री गरिने छ ।  प्राधिकरणले सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदीप्रवाही जलविद्युत  गृहहरुबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड
युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरेको थियो ।

तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो । गत आवबाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको छ।

 

प्रकाशित मिति: Aug 19, 2024

प्रतिक्रिया दिनुहोस्