Logo
५ आश्विन २०८१, शनिबार
(August 18, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाठ्यक्रमको मर्म भेट्न विद्यालयमै उम्मेदवार र मतदान

सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माविको कक्षा १० मा अध्ययनरत विद्यार्थी शुक्रवार मतदानको तयारी गर्दै थिए।

झन्डै १३५ जना विद्यार्थीको समूहबाट तीनजना उम्मेदवारहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन आयुक्त भीमनाथ रेग्मीले निर्वाचनको प्रक्रिया सुरु गराए।

तीनवटा बुथमा लामबद्ध रहेका १२० जनाले आफूलाई मन परेका उम्मेदवारको पक्षमा मत जाहेर गरे।

निर्वाचन हुनुपूर्व उम्मेदवारहरूले प्रस्तुत गरेका आफ्ना योजना सुनेका उनीहरूले व्यक्ति नहेरेर उनीहरूका योजनाअनुसार मतदान गरे। कुल आठजना उम्मेदवारहरुमध्येबाट कबुल रेग्मी, अंशराज बि.क. र युसुप परियार विजयी बने।

निर्वाचन सकिएपछि मत परिणाम सार्वजनिक गर्ने बेलामा सबै उम्मेदवारहरु एकै ठाउँमा बसे। पराजित भएकाहरूले पनि जितेकाहरूलाई बधाई दिए अनि चुनावी घोषणाअनुसारको योजना कार्यान्वयनमा जोड दिन अनुरोध गरे। जितेकाहरूको कार्यकालमा राम्रा कामका लागि सत्तापक्ष र प्रतिपक्ष नभएर सहकार्य गर्ने ती उम्मेदवारहरूले घोषणा गरे।

विद्यालयमा सामाजिक अध्ययन विषयको पाठ्यक्रममा समावेश भएको राजनीतिक दल र तिनीहरूको भूमिका शीर्षकमा प्रयोगात्मक ज्ञान दिन विद्यालयमा नै नमुना निर्वाचनको अभ्यास गरिएको सामाजिक विषयका शिक्षक भीमनाथ रेग्मीले बताए।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई लोकतान्त्रिक प्रक्रियाको महत्त्व र जिम्मेवारीको गहिरो धारणा बसाउने उद्देश्य राखिएको उनको भनाइ छ। जसमा चुनावको सुरुवाती चरणमा गरिने क्रियाकलापदेखि मतगणना पछिको प्रमाणपत्र वितरणसम्मको अभ्यास गरिएको थियो।

निर्वाचनलाई शान्त र मर्यादित बनाउन त्यहाँ रहेन कर्मचारीहरूको भूमिका मतदातालाई दिइने निर्देशन, मतदानको तरिका, निर्वाचनको महत्त्व लगायतको बारेमा पनि विद्यार्थीहरूलाई सिकाइएको शिक्षक रेग्मी बताउँछन्।

‘विभिन्न पदका लागि उम्मेदवारहरूले आफ्नो प्रतिबद्धता प्रस्तुत गरे। जसमा कक्षा प्रतिनिधि, सांस्कृतिक प्रतिनिधि र खेलकुद प्रतिनिधि पदहरू समावेश थिए। निर्वाचन शान्त र मर्यादित रूपमा सम्पन्न गराउन हाम्रै भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने कुरा विद्यार्थीमा फिल हुनुपर्छ’, उनले भने, ‘हारेका र जितेकाहरू एकै ठाउँमा हुन सक्नुपर्छ, एकले अर्कोलाई सम्मान गर्नुपर्छ, राम्रा मुद्दामा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन सक्नुपर्छ भन्ने कुरा उनीहरूले सिकून् भन्ने उद्देश्यले यो अभ्यास गरिएको हो।’

पाठ्यक्रममा समावेश भएका र प्रयोगात्मक रूपमा अभ्यास नै गरेर हेर्न मिल्ने विषयवस्तुलाई सैद्धान्तिक ज्ञानमा मात्रै सीमित गर्न नहुने विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल बताउँछन्।

पाठ्यक्रमलाई सैद्धान्तिक रूपमा मात्रै शिक्षण नगरी प्रयोगात्मक रूपमा अभ्यास नै गराउँदा बालबालिकाहरूमा दीर्घकालीन धारणा बस्ने र अहिलेबाट नै असल अभ्यास गराउन सकिने उनको भनाइ छ।

नेपालमा हुने निर्वाचनको बेलामा देखिने गरेका नकारात्मक प्रवृत्तिलाई न्यूनीकरण गर्नका लागि पनि आजैबाट विद्यार्थीहरूमा असल अभ्यासको धारणा बसाल्दै जानुपर्ने प्रधानाध्यापक रिजाल बताउँछन्। ‘यसले विद्यार्थीहरूमा नेतृत्व र नागरिक कर्तव्यको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

भोलिका नेता, कर्मचारी, शिक्षक वा अरू जे भने पनि आजका यिनीहरू नै हुन्’, उनले भने, ‘अहिले उनीहरूको मानसिकतामा जे बानी बस्छ भोलि त्यही अभ्यासमा आउँछ। आज विद्यालयले गरेको सानो प्रयासले भोलिका योग्य नागरिक तयार पार्न महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ।’

 

प्रकाशित मिति: Aug 18, 2024

प्रतिक्रिया दिनुहोस्