Logo
३१ भाद्र २०८१, सोमबार
(August 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा नेपालको अभियान : ०८४ सम्म ५ लाख क्रियाशील सदस्य बनाउने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सुदृढीकरणका लागि चार महिने अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि पार्टीले कार्यकारिणी सदस्यबाहेक सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकाको जिम्मेवारी दिएको छ ।

अभियानबाट २०८४ सालसम्म पाँच लाख क्रियाशील सदस्य बनाउने लक्ष्य पार्टीले लिएको छ । अहिले जसपा नेपालका एक लाख ४५ हजार क्रियाशील सदस्य छन् ।

चार दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा यो चार महिने अभियान सञ्चालन हुने प्रस्ताव गरिएको छ । सो प्रस्तावमा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट पनि गरिएको छ ।

एक जना केन्द्रीय सदस्यलाई कम्तीमा एउटा र बढीमा तीन वटासम्म पालिकाको जिम्मेवारी दिइएको हो । हिमाल तथा पहाडी जिल्लाका केही केन्द्रीय सदस्यलाई सम्पूर्ण जिल्लाको पनि जिम्मेवारी दिएको छ ।

जसपा नेपालको २ सय १५ सदस्यीय केन्द्रीय समितिमा नौ जना कार्यकारिणी सदस्य छन् ।

आज सो प्रस्तावमाथि छलफल गरेर टुङ्गो लगाउने कार्यकारिणी सदस्य मनिष सुमनले बताए । यो अभियान भदौ १ गतेदेखि सञ्चालन हुनेछ ।

भदौ १ गतदेखि नै अभियान सञ्चालन हुने भए पनि सो अभियानलाई भदौ ८ काठमाडौँमा उद्घाटन गर्ने कार्यक्रम रहेको नेता सुमनले बताए ।

अभियानको क्रममा संगठन गठन तथा पुनर्गठन गर्नुका साथै नयाँ सदस्य बनाउने काम हुने उनले बताए । जनतालाई जसपा नेपालप्रति आकर्षित गराउने, जनतासँग घुलमिल हुने जस्ता कार्य चार महिनाको अवधिमा हुने उनको भनाई छ ।

प्रकाशित मिति: Aug 14, 2024

प्रतिक्रिया दिनुहोस्