Logo
६ आश्विन २०८१, आईतबार
(August 11, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुर कृषि सडक चार दिनदेखि अवरुद्ध

 ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिकाबाट उदयपुर जोडिने ‘उदयपुर कृषि सडक खण्ड’ चार दिनदेखि अवरूद्ध भएको छ। पहिराेले सडक अवरुद्ध गरेकाे चार दिन बितिसके पनि अझै सम्बन्धित निकायले खुलाउन नसक्दा स्थानीयहरू समस्यामा परेका छन्।

मानेभञ्ज्याङ गाउँपालिका वडा-५ स्थित साउने खोला (छ्यालछ्याले) भन्ने स्थानमा गत बुधबार राती पहिरो गएको थियो। वडा-५ का वडाध्यक्ष रामकुमार राईका अनुसार उक्त पहिरोका कारण उँबु,फोकुल,सिम्काकु,बरासी र उदयपुर गाउँका सवारीसाधनहरू मानेभञ्ज्याङ बजार छिर्न सकेका छैनन्। मानेभञ्ज्याङ बजारबाट पनि सवारीसाधनहरू उदयपुर छिर्न सकेका छैनन्।

बेला-बेला पहिरो झरिरहेकाले पैदलयात्रूहरू समेत जोखिममा रहेको वडाध्यक्ष राईले जानकारी दिए। उनले भने,‘साउने खोला स्थित राते दाइको खानेपानी मुहान भएको स्थानमा गएको पहिरोले हाल उदयपुरलगायत छिमेकी गाउँलेहरूलाई आवतजावत गर्न एकदमै जोखिम रहेको छ,बाइक छिर्नसक्ने अवस्था पनि छैन,मान्छे आवतजावतको लागि भने सानो गोरेटो बाटो बनाएका छौँ,तर पनि माथिबाट पहिरो झर्छ की भन्ने जोखिम छ,हामीले सचेत भएर हिँड्डुल गर्नु भनेर आग्रह गरेका छाैँ।’

उनले पहिरोबारे गाउँपालिकालाई जानकारीसहित सडक खुलाउनको लागि अनुरोध गरिएको बताए। तर,सडक खुलाउन गाउँपालिकाले विशेष रूपमा चासाे देखाएकाे पाइएकाे छैन। गाउँपालिकाले चासो देखाएर तत्काल अवरुद्ध सडक खुलाउन स्थानीयहरूले माग गरेका छन्।

गाउँपालिकाले भने उक्त सडक खुलाउन प्रयास गरिए पनि नसकिएको जनाएको छ। गाउँपालिकाका प्रवक्ता भीमबहादुर बलम्पाखी मगरले धेरै ठूलो पहिरो गएकाले तत्काल सडक खुलाउन नसकिएको जानकारी दिए।

उनले भने,‘त्यहाँ पहिरोले सडक बगाएको छ,माथिबाट पनि पहिरो झरिरहेको छ,त्यसैले हामीले पालिकाको जेसिभी लगेर खुलाउन प्रयास गरे पनि सकिएन।’ उनका अनुसार पहिरो गएको ठाउँमा खानेपानी मुहान र ट्यांकी भएकाले पनि समस्या भएको छ। तारजालीसहित ग्याभिङ भरेर सडक बनाउनुपर्ने देखिएको तर यसको लागि पालिकासँग पर्याप्त बजेट नभएको उनको भनाइ छ।

‘त्यहाँ धेरै नै बजेट आवश्यक देखिन्छ,तर उक्त स्रोत पालिकासँग छैन,हामीले व्यवस्थापनको लागि पहल गर्दै छौँ,’उनले भने। उनले अस्थायी रूपमा पनि वर्षात् रोकिएपछि मात्रै उदयपुर कृषि सडक खण्ड खुलाउन सकिने जानकारी दिए। ‘तत्काल अस्थायी रूपमा पनि सडक खुलाउन सकिँदैन,’उनले भने,‘वर्षित रोकिएर माटो सुकेपछि मात्रै खुलाउन सकिन्छ,नभए माथिबाट पहिराे खसिहाल्छ।’

 

प्रकाशित मिति: Aug 11, 2024

प्रतिक्रिया दिनुहोस्