Logo
६ आश्विन २०८१, आईतबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बंगलादेशमा प्रहरीले घोषणा गर्‍यो हडताल

बंगलादेशको प्रहरी एसोसिएशनले हडतालको घोषणा गरेको छ।

सुरक्षा चुनौती रहेको भन्दै प्रहरी अधिकारीहरूले हडताल गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ।

‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं,’ बंगलादेश पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त एसोसिएसनमा बंगलादेशका हजारौं प्रहरी अधिकारीहरू आबद्ध छन्।

विद्यार्थी आन्दोलनको क्रममा सोमबारमात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको बिबिसी बंगलाले जनाएको छ।

बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल राननाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारी र प्रहरी चौकीहरूमा क्षति नपुर्‍याउन अनुरोध गरेका छन्।

‘समस्या नेतृत्वमा छ, प्रहरी बलमा होइन। दोषीलाई कारबाही हुन्छ। कृपया निर्दोष प्रहरी अधिकारीहरूमाथि आक्रमण नगरिदिनुस्,’ उनले अनुरोध गरेको समाचार द डेली स्टारले लेखेको छ।

प्रहरीका उच्च अधिकारीहरूले छिट्टै नै प्रहरी अधिकारीहरू काममा फर्किने दाबी गरिरहेका छन्।

बंगलादेशको समाचार संस्था डेली स्टारका अनुसार यस विद्यार्थी आन्दोलनमा सोमबार सम्म कम्तिमा ४ सय जनाको मृत्यु भएको छ।

सोमबार प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन्।

मंगलबार त्यहाँ नयाँ अन्तरिम सरकार बनाउने तयारी भइरहेको छ। विद्यार्थी नेताहरूले नोबल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा सरकार बनाउन माग गरिरहेका छन्। युनुसले पनि आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।

त्यस्तै विद्यार्थी नेताहरूले सेना नेतृत्व वा सेना समर्थित सरकार बनाउन नदिने पनि बताएका छन्। उनीहरूले मंगलबार ३ बजेसम्ममा संसद भंग गर्न माग गरेका थिए।

उक्त मागअनुसार राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद भंग भएको घोषणा गरेका थिए।

त्यसैगरी विपक्षी दल बंगलादेश नेसनालिस्ट पार्टी (बिएनपी)की प्रमुख बेगम खालिदा जिया पनि जेलबाट छुटिसकेकी छिन्। जियालाई बंगलादेशका राष्ट्रपति शाहबुद्दिनले छाड्न पनि आदेश दिएका थिए।

७८ वर्षीया जिया दुई पटक प्रधानमन्त्री भइसकेकी छन्। उनको स्वास्थ्य अवस्था बिग्रिँदा अस्पतालमा उपचाररत छन्।

सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा उनलाई १७ वर्ष जेल सजाय सुनाएको थियो। बिएनपीले जियाविरूद्ध गलत मुद्दा लगाएको र राजनीतिबाट टाढा राख्नलाई हसिनाको सरकारले फसाएको आरोप लगाउँदै आएको छ।

त्यस्तै आरक्षणविरूद्धको विद्यार्थी आन्दोलनको क्रममा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि छाड्न आदेश दिएका थिए। बंगलादेशको सेना प्रमुख वाकेर-उज-जमनले मंगलबार ती विद्यार्थी नेताहरूलाई भेट्ने बताएका थिए।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्