Logo
१ मंसिर २०८१, शनिबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमलताल दुर्घटनामा मृतक र बेपत्ताका परिवारलाई २ लाखको दरले राहत दिन सिफारिस

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल दुर्घटनामा ज्यान गुमाएका र बेपत्ता भएकाहरूको परिवारलाई २ लाखको दरले राहत दिन कार्यदलले सिफारिस गरेको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदै बेपत्ता भएकाहरूको परिवारलाई पनि मृतक सरह राहत दिन सिफारिस गरेको हो ।

विपद् पीडित उद्धार तथा राहत सम्बन्धी मापदण्ड–०७७ असार परिवारको एकजना सदस्यको मृत्यु भएमा २ लाख र सोही परिवारमा अन्य व्यक्तिको पनि मृत्यु भएमा थप १ लाख रुपैयाँका दरले राहत दिने व्यवस्था छ ।

प्राकृतिक प्रकोपकै कारण सिमलतालमा दुईवटा डीलक्स बस दुर्घटना भएको निष्कर्ष निकाल्दै कार्यदलले बेपत्ता परिवारलाई पनि सो मापदण्ड अनुसार राहत दिन सिफारिस गरेको छ ।

सनाखत भएका १९ जना र बेपत्ता ४० जना  पीडितको घर ठेगानाको जिल्ला प्रशासन कार्यालयबाट राहत दिनुपर्ने कार्यदलले सिफारिस गरेको छ । त्यस्तै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सिफारिस गरिएको छ ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्