Logo
३१ भाद्र २०८१, सोमबार
(August 6, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ जिल्लामा मौसम पूर्वानुमान महाशाखाको ‘रेड अलर्ट’

उपत्यकासहित देशका अधिकांश भूभागमा गएरातिदेखि नै ठूलो पानी परिरहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो क्रम बुधबारसम्म नै चल्ने भन्दै महाशाखाले ३४ जिल्लामा खतराको चेतावनी अर्थात् ‘रेड अलर्ट’ जारी गरेको छ। काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भारी वर्षा भइरहेको छ।

डुबानमा पर्नसक्ने क्षेत्रहरु बल्खु र कुलेश्वर क्षेत्र, बागमती, धोबिखोला र हनुमन्ते आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। गएराति सप्तरी, चितवन र सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ। गएराति ८ बजेदेखि अहिले बिहान ७ बजेसम्म सप्तरीमा सबैभन्दा धेरै १८५.८ मिलिमिलिटर वर्षामापन भएको छ।

यस्तै सिन्धुपाल्चोकमा १०४.८ मिलिमिटर र चितवनमा १०१.६ मिलिमिटर वर्षा मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। उनका अनुसार आज दिउँसो पनि कर्णालीबाहेक सबै प्रदेशमा भारी वर्षाको अनुमान गरिएको छ।

यस्तै राति पनि काठमाडौं उपत्यकाका केही स्थानसहित देशका सबै भुभागमा भारी वर्षाको अनुमान गरिएको मौसमविद पुडासैनीले बताए। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वर्षाका कारण बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लामा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा र तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकमोट र दोलखा छन्।

गण्डकी प्रदेशका म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ र गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची उच्च जोखिममा छन्। सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा रहेको विभागले जनाएको छ।

रातिको समयमा मनसुन बढी सक्रिय भई पानी धेरै पर्ने सम्भावना रहेकाले दुई दिन उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति: Aug 6, 2024

प्रतिक्रिया दिनुहोस्