Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बाटो छेकेर दुव्र्यवहार गरे, भिडियो खिचेर पोस्ट्याए’-सांसद सोबिता गौतम

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि नियाेजित रुपमा दुर्व्यवहार भएको बताएकी छिन् । आइतबार बाढीपहिरोले पुर्याएको क्षतिको अवलोकनका क्रममा कागेश्वरीको मनोहरास्थित मनकामना टोल पुगेर फर्किने क्रममा आफूलाई केही युवाको समूहले घेरेर आक्रमणको प्रयास गरेको उनले बताइन ।

उनले आफूहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध केही युवाहरूले नियोजित ढङ्गले आक्रमणको प्रयास गरेको, अपशब्द र दुर्व्यवहार गरेकाे र त्यसकाे भिडियो बनाएर चरित्र हत्या गरेकाे गाैतमले सिधाकुरालाइ बताएकी छिन् ।

उनले आफूमाथि भएको आक्रमणबारे संसद्मा समेत जानकारी गराएकी छिन्। आफूमाथि भएको दुर्व्यवहारबारे सांसद गाैतमले सिधाकुरासँग गरेकाे  कुराकानीकाे सम्पादित अंश यस्तो छ ः

केही दिनदेखिको वर्षाका कारण धनजनको क्षति भएको भन्दै मलाई निर्वाचन क्षेत्रका जनताहरुबाट फोनमा गुनासाे आइरहेका थिए।  आफ्नो निर्वाचन क्षेत्रमा बाढी र वर्षाले पु¥याएको क्षति अवलोकन गर्न म मेरो सहयोगी लिएर आइतबार निर्वाचन क्षेत्रमा फोन आएका ठाउँहरुमा अवलोकनका लागि निश्किएको थिएँ । 


फोन आएको विभिन्न क्षेत्रका जनताहरूसँग भेट गरेर त्यस क्षेत्रको अवलोकन गरेर म साँझ ५ बजे मूलपानी क्रिकेट रङ्गशालाको पछाडिपट्टिको एक बस्तीमा पुगेको थिएँ । त्यो पहिरोमा पुग्न चौतारो पार गरेर गाउँ पस्नुपर्ने थियो । म जाँदा चौतारोमा १ / २  जना  युवकहरु चिया पिइरहेका थिए । करिब आधा घण्टा पहिरोको अवलोकन र स्थानीयसँग कुराकानी गरेर सोही चौतारो हुँदै म र मेरो सहयोगी फर्किँदै थियौँ । अघिल्लो पटक १/२ जना भएर चिया पिइरहेका युवाहरूको समूहमा करिब २० जना युवाको हुल जम्मा भएको रहेछ। 


जाँदा चौतारासम्म नै स्थानीयहरू हामीलाई लिन आउनुभएको थियो तर फर्किँदा भने म र मेरो स्वकीय सचिव मात्र थियौँ । उनीहरूले एक्कासि तथानाम गाली गर्दै हामीलाई घेर्न थाले । बूढा मान्छेले बोलाएको ठाउँमा मात्र जाने, हामीले बोलाएको ठाउँमा नआउने ? युवा नेता भएर बुढाहरुको कुरा सुन्ने भन्दै ठुलो ठुलो आवाजमा गाली गर्न थाले ।

त्यसपछि तपाईँहरूको पनि केही भन्नुपर्ने छ भने राख्नुस् भनेँ । तर, उनीहरूले आफूहरूको समस्या राख्नुको सट्टा व्यक्तिगत तवरमै उत्रिएर गाली गर्न थाले । उनीहरु अधिकांश लागू पदार्थ र मादक पदार्थमा लट्ठ थिए । हामीलाई घेर्दै आएका एक युवकले त्यस समयमा समेत केही लागू पदार्थ सुँघ्दै गाली गलौज गरिरहेका थिए ।

अरु त अरु एक युवक एकदमै नजिक आएर औँला उठाएर हामीलाई आक्रमण गर्ने शैलीमा उत्रिए । पछि बुझ्दा ती युवक राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध युवा सङ्गठनका नेता रहेछन् । उनीहरूले तैँले के गरिस्, तेरो पार्टीले के गर्यो, यता उता सबै भन्दै गाली गर्न थाले । 

उनीहरु सबैले एकै स्वरमा हामीलाई गाली गर्दै थिए । त्यतिञ्जेल मैले म तपाईँहरूको पनि आवाज सुन्छु तर नम्र शैलीमा राख्नुहोस् भनिरहेँ तर उनीहरूको शैली झनझन् अराजक बन्दै गयो । उनीहरु आक्रामक देखिएपछि म चिया पसलको आँगनमा गएँ । जुन भिडियो अहिले भाइरल भइरहेको छ, त्यो त्यहि आँगनको भिडियो हो । 

त्यहाँ पनि मैले उनीहरुलाई नम्र भएर आफ्नो कुराहरु राख्नुस् भनिरहेँ तर उनीहरूको स्वभाव परिवर्तन भएन । उनीहरु हामीले तपाईँलाई ढुंगाले हान्यौँ भने पनि तपाईँ नम्र हुनुपर्छ भनिरहेका थिए । नशामा लठ्ठिएका उनीहरूको भनाई सुन्नेबाहेक आफ्नो कुरा राख्ने कुनै माहोल थिएन त्यहाँ । 

त्यसपछि सो स्थानमा असुरक्षित महसुस गरेर हामी त्यहाँबाट निस्किएर आफ्नो बाटो लाग्यौँ । हिजै साँझ मेरो स्वकीय सचिवले बौद्ध प्रहरीलाई घटनाबारे जानकारी गराउनुभएको छ । हामी त्यहाँ हुँदै गर्दा त्यही युवाको समूहले हाम्रो भिडियो खिचेका रहेछन्, त्यसमध्येको अन्तिमको क्लिप मात्रै हामीलाई दुर्व्यवहार गर्ने एक युवकले सामाजिक सञ्जालमा हालेका रहेछन् । हामीले अवलोकन सकेर घर आएपछि राति मात्र थाहा पायौँ । 

उक्त भिडियो अपलोड गर्ने व्यक्तिले नै हामीमाथि नियोजित आक्रमणको प्रयास गरेका थिए जसको प्रोफाइल खोलेर हेर्दा उनी राप्रपा निकट युवा संगठनमा आबद्ध भएको देखियो ।

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्