Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षले लेखा समितिको सभापति तत्काल पाउनुपर्छ : माधव सापकोटा

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले तत्काल पाउनुपर्ने माग गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सो माग गरेका हुन्। सभापति पोखरेल अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्न दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने पनि उनको भनाई थियो।

‘अघिल्लो संसदको सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रंक लाइनबारे बनाएको छानबिन समितिले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो‚’ उनले भने, ‘सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस्। र अहिलेको सार्वजनिक लेखा समितिका सभापति जे रहस्यमय घटनाक्रम अगाडि बढाइराख्नुभएको छ। यसका लागि म सम्माननीय सभामुखमार्फत रुलिङ चाहन्छु।’

सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको दावी गर्दै सो घटनाको छानबिनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। उनले सरकारले विद्यमान नियमविपरित प्राधिकरणका बोर्ड सदस्यलाई बर्खास्त गरेको दावीसमेत गरे।

‘सरकार विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ। म यो घटनाको जोडदार भत्सर्ना गर्न चाहन्छु‚’ उनले भने, ‘सरकार यो देशमा अटाक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु।’

 

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्