Logo
६ आश्विन २०८१, आईतबार
(August 5, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेकोमा विद्यार्थी संगठनको संयुक्त विरोध

२१ साउन, काठमाडौं । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै विभिन्न विद्यार्थी संगठन संयुक्त रुपमा विरोध जनाएका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनले सोमबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएका हुन् ।

उनीहरुले ०८१ साउन २२ गतेदेखि देशव्यापी त्रिविका आंगिक क्याम्पसमा विरोध ब्यनर राख्ने, २३ गते त्रिविका पदाधिकारीहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, २८ गते संयुक्त अन्तर्किया गर्ने जनाएका छन् ।

कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले साउन १५ गते त्रिभुवन विश्वविद्यालय सभामा उपकुलपति प्राडा केशरजंग बराललाई नीति तथा कार्यक्रम पेश गर्न रोक लगाएका थिए । प्रधानमन्त्री ओलीले ग्रेस लिस्टको विवरण स्वीकृत गर्ने र बजेटमाथि मात्र छलफल हुने निर्देशन दिएपछि मंगलबारको सभामा नीति तथा कार्यक्रम बिनै बजेट प्रस्तुत भएको थियो ।

उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रम प्रस्तुत नगरेपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाख ३५ हजार रुपैयाँको बजेट गरेका थिए ।

योसँगै विश्वविद्यालय सभामा पहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसपछि मात्र बजेटबारे छलफल हुने परम्परा तोडिएको थियो । यही कदमप्रति विद्यार्थी संगठनले संयुक्त रुपमा विरोध कार्यक्रम घोषणा गरेका हुन् ।

‘नयाँ पदाधिकारीहरुको नियुक्ति सँगै विश्वविद्यालय सुधारको उत्कट चाहना बोकेका लाखौं विद्यार्थीहरु र समग्र जनताको मनोभावनामा यस कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभास भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, विद्यार्थी संगठनहरुको संयुक्त विज्ञप्तिले त्रिविसहित अन्य शैक्षिक समस्याहरु समाधान गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

‘त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिकाहरु हराएको विषयमा गठित छानविन समितिको प्रतिवेदनसमेत कार्यान्वयन र दोषीउपर कारबाही गरिएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय शिक्षा विधेयक–०८० को मूल मर्मलाई तोडमोड गरिएको छ भने राज्य यसलाई संसदबाट वास गर्न र लागू गर्न चरम ढिलासुस्ती गरिरहेको छ ।’

विज्ञप्तिमा अखिल क्रान्तिकारीका पञ्जा सिंह, अनेरास्ववियूका आरती लामा, अखिल समाजवादीका नरेन्द्र सी, समाजवादी विद्यार्थी युनियनका रमेश यादव, नेपाल समाजवादी विद्यार्थी युनियनका नेत्र चपाईं, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका मनिष भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Aug 5, 2024

प्रतिक्रिया दिनुहोस्