Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल कमर्स क्याम्पसका प्राध्यापक विष्ट हत्या आरोपित १७ वर्षपछि पक्राउ

१६ साउन, काठमाडौं । नेपाल कर्मस क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्यामा संलग्न भएको आरोपमा थप केही व्यक्ति पक्राउ परेका छन् ।

प्राध्यापक विष्ट हत्याको १७ वर्षपछि हत्यामा संलग्न भएको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विष्ट हत्याका आरोपी पक्राउ गरेको हो ।

विष्ट हत्यामा संलग्न भएको आरोपमा तीन जना फरार रहेको बताइए पनि अहिले कतिजनालाई पक्राउ गरिएको भन्नेबारे प्रहरीले केही खुलाएको छैन । यसबारे पत्रकार सम्मलेन गरेर जानकारी दिने प्रहरीले बताएको छ ।

यसअघि हत्यमा संलग्न भएको आरोपमा ६ चैत २०८० मा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त्यतिबेला धादिङ गंगाजमुना गाउँपालिका-७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सविता थापा अधिकारी भनिने सोभिता थापा पक्राउ परेकी थिइन् ।

थापालाई ढोलाहिटीस्थित उनकै घरबाट पक्राउ गरिएको थियो । १६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान् भने भारतीय सेनामा कार्यरत छन् ।

के थियो घटना ?

२६ असार २०६४ मा ललितपुर महानगरपालिका-२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार पक्राउ परेकी सोभिता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको प्राध्यापक विष्टसँग चिनजान भएको थियो ।

क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको थियो । थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको खुलेको थियो ।

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो ।

सोभिताका भाइ विनोद थापा ३ पुस २०७१ मा लागुऔषध मुद्दामा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर ३ असोज २०७९ मा रिहा भएका थिए ।

त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २१ वैशाख २०६९ मा पक्राउ परेर १५ जेठ २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भएको पाइएको छ ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्