Logo
६ आश्विन २०८१, आईतबार
(July 31, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्युठानको बुढादेवी बजारमा बाढी पस्यो, भालुबाङ–चकचके सडक अवरुद्ध

१६ साउन, प्युठान । प्युठानको प्युठान नगरपालिका–१० बुढादेवी बजारमा बाढी पसेको छ । भुस्बाङ खोलाको बाढीले बजार र बजार आसपासको बस्ती डुबानमा परेको हो ।

स्थानीयबासीका अनुसार कम्तीमा १२ घर डुबानमा परेका छन् । पुरानो गाविस भवन र एउटा कृषि फार्मसमेत डुबानमा परेको छ ।

स्थानीय पार्वती सुनार, डिल बहादुर सार्की, आत्माराम सुनार, गिता नेपाली, कृष्ण बहादुर केसी लगायतका घरमा बाढीले क्षति पुर्‍याएको छ ।

बाढीले केही घरहरु भत्किएको र कुखुरासहित पशुचौपाया बाढीमा बगेको स्थानीयले बताएका छन् । यहाँ गत वर्षदेखि बाढी पस्ने गरेको छ ।

यसैगरी प्युठानको चकचके–दाङको भालुबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । प्रहरी प्रवक्ता केसीका अनुसार डिभिजन सडक कार्यालयसँगको समन्वयमा पहिरो पन्छाउने काम जारी छ ।

माण्डवी नगरपालिका–१ को गर्जेनी, सिमलचौर र खहरेखोलामा पहिरो खसेको छ । यो सडकले रोल्पालाई समेत जोड्ने गर्दछ ।

स्थानीयका अनुसार बाग्दुला–बिजुवार सडकखण्ड अन्तर्गत स्वर्गद्वारी बहुमुखी क्याम्पस नजिकैको सडकमा पनि खहरे खोलाको बाढी पसेकाले यात्रा असहज भएको छ ।

प्रकाशित मिति: Jul 31, 2024

प्रतिक्रिया दिनुहोस्