Logo
३१ भाद्र २०८१, सोमबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु

१५ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ ।

केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पहिरो गएकै स्थानमा र ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको बताएको छ ।

पहिरोमा परेकाहरूको उद्धार र खोजीकार्य जारी रहेको छ । तर पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या भएको छ ।

प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको एकिन विवरण दिन सकिने प्रतिक्रिया दिएकी छन् । उनले ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको बताएकी छन् ।

भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । स्थानीयले फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।

सन् २०१९ मा अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।

भारी वर्षाका कारण केरलाका १० जिल्लाका विद्यालय बन्द गरिएको छ ।

भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको छ ।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्