Logo
६ आश्विन २०८१, आईतबार
(July 30, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी

काठमाडौं, साउन १५ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायम-मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री शर्माको कार्यकाल आगामी भदौ २४ गते अवकासमा जाँदैछन्। त्यो भन्दा एक महिना अगाडि साउन २५ देखि बिदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिइएको हो।

सिग्देल बलाध्यक्ष रथीमा बढुवा भएको नौ महिनापछि प्रधानसेनापति बन्न लागेका छन् । गत मंसिरमा रथीमा बढुवा भएका सिग्देल २०७६ असोजमा उपरथीमा बढुवा भएका थिए।

सिग्देल उपरथी हुने क्रममा सेनाभित्र उनको नागरिकता र जन्ममितिमा विवाद झिकिएको थियो। छानबिनपछि उनी निष्कलंक देखिए। उनलाई निष्कलंक देखाउने क्रममा जन्ममिति सच्चाएका व्यक्ति पूर्व उपरथी ताराध्वज पाण्डेले पनि सफाइ पाएका थिए।

रथी बढुवामा सिफारिस भएका पाण्डेले छानबिन हुँदा नागरिकतामा किर्ते गरेको पाइएपछि राजीनामा दिएका थिए।
पाण्डेको राजीनामालगत्तै रोलक्रमका आधारमा सैनिक मुख्यालयले सिग्देललाई रथीमा बढुवा सिफारिस गरेको हो।

तनहुँमा जन्मिएका सिग्देलको स्थायी घर भैरहवा हो। सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हायर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए। उनी हाल बूढानीलकण्ठमा बस्छन्।

प्रकाशित मिति: Jul 30, 2024

प्रतिक्रिया दिनुहोस्