Logo
६ आश्विन २०८१, आईतबार
(July 29, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्चेको रेसे पहिरो: भेटियो चार जनाको शव, अझै एक जना बेपत्ता

गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरो जाँदा बेपत्ता भएका चार जनाको शव फेला परेको छ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा शव फेला परेको हो।

घटनास्थलमा रहेका राज गुरूङले  दिएको जानकारीअनुसार घटनास्थलमा तीन जनाको र फिस्लिङमा एक जनाको शव फेला परेको छ।

‘जितबहादुर गुरूङ, उनका बुवा सुलालकान्छा गुरूङ र स्थानीय रमेश गुरूङको शव पहिरोले पुरेको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘जितबहादुरको घरको आँगनबाट केही तल पुरिएको अवस्थामा शव फेला परेको हो।’

तीन जनाको शव सोमबार दिउँसो र एक जना महिलाको शव आइतबार नै फेला परेको थियो।

पहिरोमा जितबहादुरका परिवारका तीन जना परेका थिए। जितबहादुरकी श्रीमती कान्छीमाया गुरूङ पनि पहिरोमा परेर बेपत्ता थिइन्।

प्रहरीका अनुसार गोरखाकै गण्डकी गाउँपालिकास्थित फिस्लिङमा एक जना महिलाको शव फेला परेको थियो। उक्त शव प्रहरीले कान्छीमायाको भएको पहिचान गरेकोले घटनास्थलमा ल्याउने तयारी भएको गुरूङले जानकारी दिए।

यो पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र स्थानीय एक र आरूघाट गाउँपालिकाका एक जना बेपत्ता थिए। तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी रहेको गुरूङले जानकारी दिए।

पहिरोमा परेकाहरू सबै स्थानीय वाटर इनर्जी हाइड्रोमा कार्यरत कर्मचारी रहेको पनि गुरूङले बताए। परियार हाइड्रोका ट्याक्टर चालक रहेको गुरूङले बताए।

आइतबार राति गएको पहिरोले एक घर र कृषि फर्ममा क्षति पुर्‍याएको थियो। यो घर र फर्मनजिकै हाइड्रोको कार्यालय छ। हाइड्रोमा भने त्यति धेरै क्षति नपुगेको उनले बताए।

पहिरोमा परेर घाइते भएका दिलीप  गुरूङ र छामबहादुर गुरूङलाई कैलाश एयरको हेलिकप्टरबाट आइतबार उद्धार गरेर काठमाडौं ल्याइएको छ।

प्रकाशित मिति: Jul 29, 2024

प्रतिक्रिया दिनुहोस्