Logo
२३ भाद्र २०८१, आईतबार
(July 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरियो शाखा अधिकृत, नासु र खरिदारको पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने

१० साउन, काठमाडौं । लोकसेवा आयोगले लिने लिखित परीक्षाको प्रारम्भिक चरणको प्रथम पत्र र पाठ्य योजनासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।

शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन मात्रै ४५ अंक ल्याउनुपर्ने भएको छ । हालसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो ।

लोकसेवा आयोगले आर्थिक २०८१/८२ को विज्ञापनदेखि लागु हुने गरी सार्वजनिक गरेको पाठ्यक्रममा अब १०० अंकको प्रारम्भिक चरणको परीक्षामा पास भएर दोस्रो चरणको लिखित परीक्षमा सहभागी हुन ४५ अंक ल्याउनैपर्ने व्यवस्था गरेको हो ।

पहिलो चरणको परीक्षामा १०० अंकको वस्तुगत प्रश्न सोधिन्छ । सो परीक्षामा अब न्युनतम् ४५ अंक नल्याएकाहरुले दोस्रो चरणको परीक्षमा सामेल नै हुन पाउने छैनन् ।

यसैगरी अब पहिलो पत्रमा प्राप्त भएको कूल प्राप्तांकको ५० प्रतिशत अंक दोस्रो पत्रको प्राप्ताङ्कमा जोडिने व्यवस्था पनि हटेको छ । अर्थात् अब प्रथम पत्रको परीक्षा ‘छनोट परीक्षा’का रुपमा मात्रै रहनेछ । दोस्रो पत्रमा पहिलो पत्र आएका आएको कुल अंकको आधा अंक जोडिने व्यवस्था हटेको हो ।

लिखित परीक्षाको प्रथम चरणमा प्रारम्भिक परीक्षा हुने र यो प्रारम्भिक परीक्षालाई छनोट परीक्षाको रुपमा मात्र लिई प्राप्तांकलाई मूल परीक्षाको अंकमा समावेश नगर्ने व्यवस्था गरिएको हो ।

प्रारम्भिक परीक्षाको उतीर्णांक पूर्णांकको ४५ प्रतिशत अर्थात ४५ अङ्क हुने व्यवस्था भएसँगै अब दुबै परीक्षा  फरक-फरक अस्तित्वमा रहनेछन् ।

लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमेगाइँ  तीन पदमा सुरुमा स्क्रिनिङ टेस्टको पाठ्य योजनामा परिवर्तन गरिएको बताउँछिन् । ‘स्क्रिनिङ टेस्टको नतिजाको ५० प्रतिशत अंक मूल परीक्षामा जोड्ने व्यवस्था थियो, अब नजोड्ने व्यवस्था गरेका छौं,’ उनले भनिन् ।

उनका अनुसार एउटा परीक्षाको नतिजालाई अर्को परीक्षाको नतिजासँग जोड्नु सान्दर्भिक नभएकाले एउटा परीक्षाले अर्को परीक्षालाई प्रभाव नपारोस् भन्ने उद्देश्य राखेर यस्तो व्यवस्था गरिएको हो ।

प्रकाशित मिति: Jul 25, 2024

प्रतिक्रिया दिनुहोस्