Logo
२३ भाद्र २०८१, आईतबार
(July 24, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोलखा भीमसेनको शिलामा फेरि आयो बाँया भागबाट पसिना

काठमाडौं, ९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलामा पसिना आएको छ । आज (बुधबार) ११ बजेदेखि करिब साढे २ घण्टासम्म भीमसेनको शिलामा पसिना आएको बताइएको छ ।

यसअघि गत साउन ५ गते पनि भीमसेनको शिलामा पसिना आएको थियो ।

भीमेश्वर नगरपालिका प्रमुख ईश्वरनारायण मानन्धरका अनुसार भीमसेनको शिलाको बाँया भागबाट पसिना आउँदा अनिष्टको संकेत मानिन्छ ।

मेयर माननन्धरका अनुसार वि.सं.१९९०, १९९७, २००७, २०१७, २०३६, २०४६, २०५७, २०६४, २०७२, २०७७, २०७८ र २०८१ साउन ५ गते शिलाको बाँया भागबाट पसिना आएको थियो ।

यी समयको आसपासमा ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति र अन्य दुःखदायी घटना भएको इतिहास छ । भीमसेनलाई आएको पसिनाले ती घटनाहरुको पूर्वसंकेत गरेको जनविश्वास रहँदै आएको मेयर मानन्धरले बताए ।

‘भीमसेनको शिलामा पसिना आउँदा शुभ हुने संकेत पनि छ, अनिष्ट हुने संकेत पनि मानिन्छ । शिलाको बाँयाबाट पसिना आउँदा अनिष्टको संकेत, दाँयाबाट आउँदा शुभ संकेतको जनविश्वास छ ।

साउन ५ गते शिलाको बाँयाबाट पसिना आएको थियो । आज शिलाको शिर हुँदै मध्य भागसम्म पसिना आएको छ,’– मेयर मानन्धरले  संक्षिप्त कुराकानीमा भने ।

भीमेश्वरको शीलामा पसिना आउँदा राजतन्त्रकालमा दरबारले पञ्चवली पठाउने चलन थियो । गणतन्त्रपछि त्यो परम्परा छोडिएको छ । गणतन्त्रपछि भीमेश्वरको शीलामा पसिना आउँदा राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति: Jul 24, 2024

प्रतिक्रिया दिनुहोस्